Logo

इफाप्काको ४२ औं बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगोलिया प्रस्थान

इफाप्काको ४२ औं बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगोलिया प्रस्थान



काठमाडौं । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको २२ सदस्यीय टोली मंगोलियाको राजधानी उलानबाटोरमा जेठ ३२ बाट शुरु हुने बैठकमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले बिदाइ गरे । असार २ गते सम्म चल्ने बैठकमा इफाप्कामा आबद्ध १८ राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

हाल इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बैठकको अध्यक्षता गर्नेछन् । बैठकका क्रममा विभिन्न फोरममा निर्माण उद्योगमा देखिएको चुनौती र तिनको समाधान, दिगो विकासको युग लगायतका विषयमा केन्द्रीत रही विज्ञहरूबीच छलफल हुनेछ ।

साथै नेपालमा हुने ४६ औं इफाप्का सम्मेलनको तयारी बारे पनि बैठकमा परामर्श हुनेछ । मंगोलियाको राजधानी उलानबाटोर पुग्नु अघि नेपाली प्रतिनिधिमण्डलले केही दिन दक्षिण कोरियामा रहँदा छोटो अवधिमा दक्षिण कोरियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिबारे स्थलगत अवलोकन गर्नेछ । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL