Logo

असारदेखि काठमाडौं महानगरपालिको सबै सेवा काठमाडौं प्लाजाबाट, शाखाहरु धमाधम स्थानान्तरण हुँदै

असारदेखि काठमाडौं महानगरपालिको सबै सेवा काठमाडौं प्लाजाबाट, शाखाहरु धमाधम स्थानान्तरण हुँदै



काठमाडौं । नेपाल ट्रस्टको अधिनमा रहेको काठमाडौं प्लाजामा काठमाडौं महानगरपालिका भटाभट सर्दैछ । काठमाडौं भरी छरपस्ट भएका महानगरपालिकाका विभिन्न विभाग र महाशाखाहरुका कार्यालयहरुलाई एकै भवनमा जेठ १ देखि सार्न सुरु गरिएको हो । तर, विभिन्न कारणबस हालसम्म पनि महानगरपालिकाका केहि शाखा तथा विभागहरु उक्त भवनमा सार्न बाँकी नै छ ।

गएको चैत ७ गते काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र नेपाल ट्रस्टका कार्यकारी सचिव सरजुकुमार बैद्यबीच काठमाडौं प्लाजा १० बर्षका लागि महानगरपालिकालाई लिजमा दिने सम्झौता भएको थियो । त्यसपश्चात नै सर्न सुरु गरिसकेको महानगरपालिका हालसम्म सरिसकेको छैन । तर पछिल्लो हप्ता भने महानगरपालिकाका सहकारी, स्वास्थ्य, राजस्व, सार्वजनिक निर्माणलगायतका विभागहरु सरिसकेका छन् । यी विभागकाे काम पनि यसै भवनबाट हुने गरेकाे छ ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार अझै अन्य विभाग तथा महाशाखाहरु सर्ने क्रम जारी छ । बाँकी रहेका विभाग तथा महाशाखाहरु पनि सबै चाँडै सरेर असार १ गतेदेखि महानगरपालिकाका सबै सेवाहरु सोही भवनबाटै उपलब्ध हुने उनले बताए ।

हाल प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय सुन्धारास्थित जेडिए कम्प्लेक्समा छन् । यस्तै यसै कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई समेत छन् । बाँकी रहेका महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाई महानगरपालिकाको पुरानो भवन बागदरबारमा छन् ।

२०७२ सालको भुकम्पपश्चात महानगरपालिकाको भवन बागदरबार जिर्ण भएपछि महानगरपालिका मातहतका विभाग र महाशाखाहरु एकै स्थानमा नअटाएपछि काठमाडौंभर छर्नुपरेको थियो ।

जसअनुसार उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा टेकुमा छन् । कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छन् । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा थिए ।

यस्तै सहकारी विभाग बिजुली बजारमा छ। सहरी योजना आयोगको कार्यालय थापाथलीमा राखिएको थियो । जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद् व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाईलगायत कार्यालय थिए । बाँकी रहेको हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा र राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना थिए ।

यसरी सबै कार्यालयहरु छरपस्ट हुँदा सेवाग्राहीसँगै कर्मचारी र स्वयं महानगरपालिकालाईसमेत सास्ती भईरहेकाले महानगरपालिकाले ट्रस्टको खाली भवन काठमाडौं प्लाजा लिने निर्णय गरेको थियो ।

प्लाजामा यसअघि रहेका विभिन्न पसल, रेष्टुरेन्टलगायत हटाईएपछि यो करिव २ बर्षदेखि खालीजस्तो थियो । जसका कारण यसको लिफ्ट, सिलीङ, भुईँ, भित्तालगायतका संरचनामा असर परेको छ । झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले बहाल रकमबाट कटाउने सम्झौतामा उल्लेख छ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ ।

मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने काठमाडौं महानगरपालिकाले १० बर्षका लागि उक्त भवन पाएको हो । अबको ५ बर्षमा उक्त भवनको भाडा १० प्रतिशत थपिने सम्झौतामा उल्लेख छ ।

अबको केहिदिनमा सबैजसो कार्यालय र महाशाखा काठमाडौं प्लाजामा सरेपछि यसको रंगरोगन, मर्मतसम्भार गर्ने महानगरपालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्