Logo

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे एमालेले माग्यो अर्थमन्त्रीको जवाफ

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे एमालेले माग्यो अर्थमन्त्रीको जवाफ



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् ।

पूर्व निर्धारित समयभन्दा तीन घण्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । प्रमुख सचेतक गिरीले करका दरहरु परिवर्तन गर्ने कार्यमा त्यस्ता व्यक्तिहरुलाई राखेर व्यापारिक घरानालाई लाभ हुने गरी काम भएको पाइएकाले सदनमा अर्थमन्त्रीले यसमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले करका दर परिवर्तन हुने सूचना चुहाएर रातारात ठूलो संख्यामा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाल ल्याइएको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले गत वर्षको बजेट निर्माणका समयमा यस्तै घटना भएपछि तत्कालीन अर्थमन्त्रीले राजीनामा दिएको सन्दर्भमा उल्लेख गर्दै नीतिगत भ्रष्टाचारको डरलाग्दो जालो तोड्नुपर्ने बताए । उनले अपारदर्शीरुपमा करका दर परिवर्तन गरिएको हो कि होइन ? भन्ने विषयमा स्पष्ट जवाफ दिन माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विधि र प्रक्रिया मिलाएर भ्रष्टाचार गरिएको सुनिएकाले जेठ १४ गते राति आर्थिक विधेयकलाई अन्तिम रुप दिने कार्यमा अर्थ मन्त्रालयमा असम्बन्धित व्यक्ति समावेश भएको हो कि होइन भन्ने प्रश्न गरे ।

अर्थ मन्त्रालयमा पूर्व कर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्व नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्व कर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरेका हुन् । सांसद डा. अमरेशकुमार सिंहले उक्त विषयमा सरकारले स्पष्ट पार्नु पर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलोमतोमा सामसुम हुने गरेको टिप्पणी गरे । सोबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकलाई जवाफ दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्