Logo

सुनको मूल्य हालसम्मकै उच्च, ४ दिनमै ५२०० ले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च, ४ दिनमै ५२०० ले बढ्यो



काठमाडौं । यो साताको मंगलबारदेखि लगातार उकालो लागेको सुनको मूल्य नेपाली बजारमा प्रतितोला १३ हजार माथि पुगेको छ । गत सोमबारसम्म नेपाली बजारमा प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य त्यसयता लगातार बढेर शुक्रबारसम्म आईपुग्दा हालसम्मकै उच्च १३ हजार रुपैयाँ नाघेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको सोमबारको तुलनामा मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको थियो । त्यसयता पनि सुनको मूल्य उकालो लाग्ने यात्रा कायमै रह्यो र बुधबार १ हजार ५ सयले, बिहीबार ४ सय रुपैयाँले र आज बिहीबारको तुलनामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यता अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य एक हप्ताकै अवधिमा ३६ डलर बढीले बढिसकेको छ । गोल्डप्राईसका अुनसार एक हप्ता अघि २५ मे का दिन विश्वबजारमा सुनको मूल्य १ हजार ९ सय ४० डलर प्रतिऔंस रहेको थियो । आज उक्त मूल्य बढेर १ हजार ९ सय ७७ डलरसम्म पुगिसकेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि यसको प्रभाव परेको र मूल्य बढेको सुन व्यवसायीहरु बताउँछन् ।

यस अवधिमा नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले बढिसकेको महासंघले जानकारी दिएको छ । गत सोमबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य हालसम्म बढेर प्रतितोला १४ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्