Logo

गर्मी बढेपछि ह्वात्तै बढ्यो बिजुलीको माग, हालसम्मकै उच्च बिजुलीको माग रेकर्ड

गर्मी बढेपछि ह्वात्तै बढ्यो बिजुलीको माग, हालसम्मकै उच्च बिजुलीको माग रेकर्ड



काठमाडौं । नेपालको बिद्युत प्रणालीमा हालसम्मकै उच्च बिजुलीको माग रेकर्ड गरिएको छ । बुधबार साँझ बिजुलीको पिक डिमाण्ड हालसम्मकै उच्च अर्थात २ हजार मेगावाट आसपास पुगेको हो । यो हप्ता बढेको गर्मीका कारण बिजुलीको माग ह्वात्तै बढेको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

तराई र पहाडमा पनि अत्याधिक बढेको गर्मीका कारण पंखा र एसीहरु बढी चलेपछि बिजुलीको माग हालसम्मकै उच्च भएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए । ‘यो हप्ता अत्याधिक बढेको गर्मीका कारण तराईमा बिजुलीको माग बढेको छ,’ उनले भने, ‘जसका कारण बुधबार साँझ मात्रै २ हजार मेगावाटको आसपासमा पिक डिमाण्ड रेकर्ड गरिएको छ, यो हालसम्मकै उच्च हो ।’

पछिल्लो समय बढेको बिजुली सवारीसाधनको प्रयोगका कारण पनि विद्युत खपत उच्च भएको उनको भनाई छ । धेरैजसो उपभोक्ताहरुले प्रयोग गर्ने विद्युतीय सवारीसाधन, इन्डक्सन चुलोलगायतले प्रणालीमा हुने लोड बढेको छ । तर, प्राधिकरणले सो लोड धान्न भारतबाट बिजुली आयात गरिरहेको उनले बताए ।

नेपालले हाल भारतबाट दैनिक ३ देखि ५ हजार मेगावाट आवरसम्म बिजुली आयात गर्दै आएको छ । अघिल्लो हप्ता केहिदिन बर्षा भएपछि भने प्राधिकरणले एक दिनका लागि बिजुली भारततर्फ निर्यात समेत गरेको थियो । लगातार बर्षा भएपछि गत शुक्रबार राती प्राधिकरणले भारततर्फ करिव ६ सय मेगावाट आवर बिजुली निर्यात गरेको थियो । तर, त्यसैदिनदेखि बर्षा रोकिएपछि पुनः निर्यात रोकिएर भारतबाट आयात गरी माग धान्नुपर्ने अवस्था आएको प्रवक्ता भट्टराई बताउँछन् । गएको शुक्रबार यता एकाएक पुनः चर्को घाम लागेपछि बर्षा कम भयो र बिजुली उत्पादन पनि घटेपछि यस्तो समस्या निम्तिएको हो ।

हाल सबै उद्योगहरुमा पनि बिजुली पुर्याउन सकिएको उनको भनाई छ । ‘हामीले आयात गरेरै भएपछि उद्योगहरुमा बिजुली पुर्याईरहेकै छौं,’ उनले भने, ‘तर, पिक आवर अर्थात बेलुकी साढे ६ बजेदेखि राती साढे ९ बजेसम्म भने केहि समय उद्योगमा जाने बिजुली केहि कटौती गर्ने गरेका छौं ।’ उनका अनुसार प्रणालीमा बढी लोड आएको अवस्था अर्थात पिक आवरमा भने उद्योगीले बिजुली नपाउने समस्या फेरि निम्तिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL