Logo

प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि : विद्युत् व्यापार, हवाई रुट, प्रसारण लाइन निर्माणलगायत एजेण्डा

प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि : विद्युत् व्यापार, हवाई रुट, प्रसारण लाइन निर्माणलगायत एजेण्डा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल हुने भएको छ । । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत बुधबार त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिए । उनले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताए ।

परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्त्वपूर्ण विचार विमर्श हुने उल्लेख गरे । दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने परराष्ट्रमन्त्रीले विश्वास व्यक्त गरे । यस्तै महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ ।

नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्वपूर्ण सहमति गर्ने तयारी छ । उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ ।

उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्रिगण, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नेछन् । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले सोमबार मात्रै प्रतिनिधिसभामा भारत भ्रमणको बारेमा जानकारी गराइसकेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।’

भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन् मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन् । अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमबार आव २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ ।त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । ‘आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ’, सञ्चारमन्त्री शर्माले भनिन् ।

भारतीय नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्छ : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा आपत्ति जनाएका छन् । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख छ । उक्त नक्साप्रति ओलीले आपत्ति जनाएका हुन् ।

मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि जनाएका छन् । बुधबारबाट हुने भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL