Logo

मन्त्रिपरिषद बैठकद्धारा रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद बैठकद्धारा रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेमा सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

यसअघि जेठ १२ गते गृह मन्त्रालय राष्ट्रपति कार्यालयमा पठाएको पत्र राष्ट्रपति पौडेलले फिर्ता पठाएका थिए । नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था रहेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

२०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीले पाएको जन्मकैदको सजाय अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । अब सरकारले सजाय मिनाहाको प्रक्रिया अगाडी बढाएर यो कार्यान्वयन भएमा उनको करिब १४ बर्ष ९ महिनाको सजाय माफी हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL