Logo

सडक पूर्वाधार विकासमा बजेट सहयोगी, वातावरणमैत्री सवारीको छुट खारेजमा पूर्नविचार गर्न माग

सडक पूर्वाधार विकासमा बजेट सहयोगी, वातावरणमैत्री सवारीको छुट खारेजमा पूर्नविचार गर्न माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) नेपाल सरकारले संविधान मै तोकिएको समयावधि भित्र रहेर प्रस्तुत गरेको बजेट स्वागत योग्य रहेको बताएको छ । नाडाले मंगलवार बजेटबारे टिप्पणीसहितको  विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । नाडाले चालु आर्थिक बर्षको वजेटले सडक पूर्वाधारको विकासको लागि समयावधि समेत तोकी यथेष्ट बजेटको तर्जुमा गरेको भन्दै प्रशंसा गरेको छ ।

साथै सरकारले पूर्वाधारको विकासको लागि राष्ट्रिय पूर्वाधार नीति अनुसन्धान प्रतिष्ठान समेत गठन गर्ने निर्णयले नेपालको सडक पूर्वाधारको विकासमा ठूलो टेवा पुग्ने विश्वास नाडाको छ । बजेटले करको दायरामा विस्तार, कर प्रणालीमा आधुनिकिकरण र त्यसको स्वच्छतालगायत वित्तियक्षेत्रमा सुधारका लागि तय गरेको कार्यक्रम सराहनिय भएको बताइएको छ ।

त्यसैगरी सरकारले नाकाबन्दीका कारण व्यवसायीहरुले भोग्नु परेको कठीनाईलाई बजेटले सम्बोधन गर्नु बजेटको सकारात्मक पक्षहरु भएको बताएको छ । सरकारले यातायात प्रणालिमा सुधार ल्याउन इम्बोष्ड नम्बरप्लेट र स्मार्ट कार्डमा व्यवस्था गर्ने योजनाबाट यातायात प्रणालिमा पर्याप्त सुधार आउने अपेक्षा नाडाको छ ।

त्यस्तै सरकारले मुलतः सवारी साधनहरुमा प्रयोग हुने पेट्रोलियम पदार्थको आयातमा प्रति लिटर रु पाँच पूर्वाधार कर लगाउने जुन व्यवस्था स्वागतयोग्य भएको बताइएको छ ।

तर त्यो करको भार उपभोक्ताले नभई स्वंय नेपाल आयल निगमले नै समायोजन गर्ने गरी हुनु पर्छ । ‘निजी प्रयोगका विद्युतिय सवारी साधनको पैठारीमा अन्तःशुल्क पुरै छुट दिई १० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्थाले वातावरणको शुरक्षामा सहयोग पुग्ने देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

तर सरकारले अन्य सवारी साधनहरुमा जस्तै इलेक्ट्रीकल भेहिकलको प्राविधिक मापदण्ड निर्धारणलगायत त्यसमा प्रयोग भईसकेका व्याट्रीहरुको समुचित व्यवस्थापनका लागि आवश्यक नीति नियमको तर्जुमा गरी त्यसको कडाईका साथ पालन गर्ने व्यवस्था गर्नु पनि उत्तिकै जरुरी भएको बताएको छ ।

यस बजेटले हाइव्रिद जस्ता उच्च प्रविधिमा निर्मित वातावरण तथा इन्धन मैत्री सवारी साधनहरुमा दिदै आएको छुटलाई खारेज गरेको भन्दै पुर्नविचारका लागि सरकारसंग माग गरेको छ ।
सरकारले यातायातका साधनहरुमा लाग्ने सडक मर्मत सम्भार दस्तुरमा गरेको बृद्धिले सवारी साधनहरुको मूल्यमा थप बृद्धि हुने बताइएको छ । बरु यसबाट प्राप्त हुने राजश्वलाई त्यहि शीर्षकमा मात्र खर्च गर्ने व्यवस्था हुनु पर्ने यस एशोसिएशनको धारणा छ ।

बजेटमा नाडाको सुझाव अनुरुप भन्सार तथा अन्तःशुल्क महशुलहरुको दर कुनै पनि बस्तुमा नघटेको बताएको छ । साथै अटोमोवाइल स्पेयर पार्टस, टायर र लुव्रिकेण्टसमा भईरहेको चोरी पैठारी र कम गुणस्तरका स्पेयर पार्टसको आयातलाई रोक्न त्यसमा लागि आएको भन्सार तथा अन्तःशुल्क महशुल घटाउन निरन्तर रुपमा माँग गर्दे आएकोमा बजेट यसबारे मौन रहेकाले आगामी दिनमा ती बस्तुहरुको अनधिकृत आयात अझ बढ्ने देखिन्छ । यसतर्फ सरकारले पुर्नविचार गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्