काठमाडौं । पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र, मधेशवादी दलहरुको संयुक्त सरकार बन्ने गृहकार्य भित्रीरुपमा भैरहेको छ । भित्रीरुपमा यस्तो चलखेल शुरु भएपछि राजनीतिक अस्थिरता र अन्योलको स्थिति उत्पन्न हुने खतरा बढेको छ ।
केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताहरु सरकारमा नजानुपर्ने पक्षमा रहेपनि दाहाल लगायत केही नेताहरुको व्यक्तिगत समस्याका कारण अव नयाँ समीकरण बन्न लागेको समाचार स्रोतले जानकारी दिएको छ ।
एमालेसँगको सम्वन्ध तोड्न फेरि दाहालले सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर सरकार हस्तान्तरणका लागि मनस्थिति बनाउन आग्रह गरेको जनाइएको छ । सरकार आफ्नो नेतृत्वमा नबन्दा घेराबन्दीमा पर्ने विश्लेषण गरी दाहाल कांग्रेस सभापति शेरबहादुर देउवातिर सम्वन्ध बढाइरहेका छन । यसैहप्ता दाहालले देउवालाई उनकै निवासमा भेटिसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई घेराबन्दीमा नपर्ने भन्दै आफुलाई नै सहयोग गरेर अगाडि आग्रह गरेका थिए । यदि नभए प्रचन्डकै नेतृत्वमा सरकार बनाउने तर कांग्रेसलाई सरकारमा नल्याउने भन्दै दाहाललाई आश्वास्त पारेका थिए । तर दाहाल स्वयंले भने ओलीले नेतृत्व हस्तान्तरण गर्ने संभावना नरहेको निश्कर्षमा पुगेका छन । ओलीले यो कुरा आफूनिकट नेता शंकर पोखरेललाई सञ्चार माध्यममा भन्न लगाइसकेका छन । पोखरेलले बजेटपछि दाहाललाई सरकार हस्तान्तरण गर्ने कुनै सहमति नभएको तर उनको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने स्थिति छ भने सबै दलहरुसँग बसेर छलफल गर्न सकिनेसम्म भनिएको स्पष्ट पारेका छन ।
उता कांग्रेसले भने यो सरकारको समीकरण भत्काउन एकपटक दाहाललाई सरकारको नेतृत्व दिनैपर्ने निश्कर्षमा पुगेको उक्त स्रोतको दाबी छ । उनका अनुसार एकपटक दाहालले र पछि देउवाले सरकारको नेतृत्व गर्ने सम्वन्धमा भित्री कुरा भएको बुझिएको छ । यसबाट पनि दाहाल झस्किएका छन । दाहालले देउवालाई र देउवाले दाहाललाई विश्वास नगरिरहेको स्थितिमा सुधार आएको छ । दाहालले सरकार ढलिसकेपछि एमालेले पनि देउवालाई समर्थन गर्ने र माओवादीलाई बाहिर राख्ने प्रस्ताव गरेको खण्डमा पनि त्यसलाई अस्वीकार गर्नुपर्ने शर्त राखेका छन । उनको देउवासँग यही शंका रहेको छ ।
यता एमालेले भने यो कुरा थाहा पाउनासाथ चुनाव घोषणा गरेर सत्ता साझेदारहरुलाई बाहिर राख्ने र सरकार लम्ब्याउने कसरत गर्ने आँकलन पनि भैरहेको छ । यो समीकरण भत्काउनु त्यति सहज नभएको दाहालको भनाई रहेको सूत्रले जनाएको छ ।