Logo

व्यापारमा मन्दीको असर : कच्चा पेट्रोलियमको मूल्यमा निरन्तर गिरावट, नेपालमा यस्तो छ अवस्था

व्यापारमा मन्दीको असर : कच्चा पेट्रोलियमको मूल्यमा निरन्तर गिरावट, नेपालमा यस्तो छ अवस्था



काठमाडौं । कोरोना महामारी र त्यसपश्चात निम्तिएको रुस युक्रेन युद्धको बाछिटाले विश्व अर्थतन्त्र नै यतिबेला सुस्त बनेको छ । केन्द्रिय बैंकहरुले वस्तुको मूल्य नियन्त्रण गर्न बैंक ब्याजदर बढाउनु, बजारमा वस्तु मागमा संकुचन आउनु, उद्योगधन्दा बन्द हुनुलगायतका कारण विकासित देशहरुमा पनि आर्थिक मन्दीको संकेत देखिएको छ ।

अर्थशास्त्रीहरुले एकदशकमै २ पटकसम्म विश्व आर्थिक मन्दी आउने घोषणा गरिरहँदा मन्दीको संकेत देखिइसकेको छ । अझ भनौ सन २००८ मा आएको आर्थिक मन्दीको तुलनामा यो बर्षको आर्थिक मन्दी लामो समयसम्म रहनेसमेत अनुमान अर्थशास्त्रीहरुले गरिसकेका छन् ।

अमेरिकाका नाम चलेका बैंकहरु धमाधम बन्द हुँदैछन् । अमेरिकी केन्द्रिय बैंकले आफ्नो ब्याजदर एक बर्षकै अवधिमा १० पटकसम्म बढाएर ५.२५ प्रतिशतसम्म पुर्याइसकेको छ । अन्य विकसित राष्ट्रहरुमा पनि अर्थतन्त्रमा विभिन्न समस्या देखिन थालेका छन् ।

यी र यस्तै कारणले पछिल्लो समय विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आइरहेको छ । गत बर्ष कोरोना महामारीको अन्त्य हुँदैगर्दा वस्तु मागमा उच्च वृद्धि भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य नयाँ रेकर्डसहित उच्च विन्दुमा पुगेको थियो । गत बर्ष जुनमा कच्चा तेल(ब्रेन्ट)को मूल्य प्रतिव्यारल १ सय २२ डलरसम्म पुगेको थियोे । त्यसयता लगातार ओरालो लागेको कच्चा तेलको मूल्य हालसम्म आईपुग्दा ७२ डलर प्रतिव्यारलको आसपासमा कारोबार भईरहेको छ ।

अमेरिकाको केन्द्रिय बैंकले लगातार बढाइरहेको बैंक ब्याजदरका कारण केहि समयसम्म विश्वबजारमा अमेरिकी डलरको मूल्य आकाशिएको थियो । जसले केहि हदसम्म पेट्रोलियम पदार्थको मूल्यमा असर गर्दा मूल्य बढ्यो । तर, डलरको मूल्य बढेसँगै विश्वभर मागमा संकुचन आउँदा व्यापार मन्दी देखियो र सर्वसाधारणले उर्जा प्रयोग घटाए । जसको प्रत्यक्ष प्रभाव इन्धनको मूल्यले ओरालो बाटो तय गरेको अर्थविद्हरु बताउँछन् ।

अझ अमेरिकी बैंकहरु एकपछि अर्काे डुबिरहँदा पनि कमोडिटी मार्केटमा यसको असर परेको देखिन्छ । यता युरोपका धेरै देशहरुमा प्राकृतिक इन्धनको प्रयोगमा गिरावट आएसँगै गएको सोमबार मात्रै प्राकृतिक ग्याँसको मूल्य घटेर ६ हप्तायताकै न्यून मूल्यमा पुगेको छ ।

यता दक्षिण एशियाको अवस्था पनि त्यस्तै छ । नेपालमा भने गत बर्ष हालसम्मकै उच्च अर्थात पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल १ सय ९२ रुपैयाँसम्म पुगेको थियो । त्यसयता नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २४ रुपैयाँ र डिजेलको २७ रुपैयाँले घटेको छ । मूल्य उच्च भएकाबेला कम मूल्यमै नेपाली बजारमा पेट्रोलियम पदार्थ विक्री वितरण गर्दा नेपाल आयल निगमलाई घाटा लागेपछि सोही घाटा परिपुर्ति गर्नका लागि हाल भारतबाट घटेर आएको अवस्थामा पनि नेपालमा पेट्रोलियमको मूल्य कमै घट्ने गरेको छ ।

एकातिर पेट्रोलियम पदार्थको खपत घटेको र अर्काेतिर अन्तरराष्ट्रिय बजारमा मूल्य बढेका कारण निगमले पेट्रोलियम खरिदको पैसा भारतीय आयल निगमलाई तिर्न सकेको थिएन । जसका कारण हालसम्म नेपाल आयल निगमले भारतीय आयल निगमलाई साढे ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमका अधिकारीहरु बताउँछन् । यही ऋणलाई परिपुर्ति गर्न निगमले पेट्रोलियम पदार्थमा नाफा राखेर विक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL