काठमाडौं । पछिल्लो समय विश्वभर पहेँलो धातु (सुन)को मूल्य लगातार उकालो लाग्दो क्रममा छ । जसको प्रभाव नेपाली बजारमा पनि परिरहेको छ । सुनको मूल्य निरन्तर बढिरहँदा नेपालमा सुनको मूल्यले पटकपटक उच्च मूल्यको नयाँ रेकर्ड कायम गरिरहेको छ । हाल नेपाली बजारमा सुनको मूल्य १ लाख ११ हजार माथि पुगिसकेको छ । यो पछिल्लो ६ महिनामा विश्वव्यापी रुपमा देखिएको उच्च मूल्यवृद्धिको परिणाम पनि हो ।
नेपालमा पछिल्लो ६ महिनामा मात्रै सुनको मूल्य प्रतितोला १० हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बर्षको मंसीर २५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको थियो । हाल यसको मूल्य बढेर प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ । अर्थात पछिल्लो ६ महिनामा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको छ ।
त्यसयता उच्च उत्तारचढाव भएको सुनको मूल्यले नेपाली बजारमा यसै अवधिमा झण्डै ४ पल्ट उच्च मूल्यको रेकर्ड कायम गरेको छ । हालै गत हप्ताको बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च हुन पुगेको थियो । यसरी ६ महिनाको अवधिमा नेपाली बजारमा सुनको मूल्य कहिले घट्ने र बढ्ने भइरहँदा औसतमा १० हजार ४ सय रुपैयाँले बढेको देखिन्छ ।
तर, विश्वबजार र नेपालमा सुनको मूल्यवृद्धि प्रवृत्ति फरक छ । विश्वबजारको कुरा गर्दा गत डिसेम्बर ८ देखि हालसम्म सुनको मूल्यमा प्रतिऔंस ३ सय ४२ डलरको वृद्धि देखिन्छ । गएको डिसेम्बर ८ मा प्रतिऔंस १ हजार ६ सय ७४ डलरमा कारोबार भइरहेको सुनको मूल्य आजसम्म आइपुग्दा बढेर प्रतिऔंस २ हजार २४ डलर पुगेको हो ।
यसरी हेर्दा नेपालको तुलनामा विश्व बजारमा सुनको मूल्य वृद्धि झण्डै ४ गुणाले बढी छ । अर्थात पछिल्लो ६ महिनामा विश्व बजारमा सुनको मूल्य ३ सय ४२ डलरले बढेको छ । अर्थात पछिल्लो ६ महिनामा नेपालमा डलरको विनिमय दर १ सय २८ देखि ३२ डलरको आसपासमा छ । यसलाई औसतमा प्रतिडलर १ सय ३० रुपैयाँ मानेर हिसाव गर्दा विश्वबजारमा ६ महिनाकै अवधिमा सुनको मूल्य प्रतिऔंस ४४ हजार ४ सय ६० रुपैयाँले बढेको देखिन्छ ।
यसरी सुनको मूल्य विश्वबजारको तुलनामा नेपालमा झण्डै ४ गुणा कमले बढेको वृद्धि हुनुमा भन्सार दर र डलरको विनिमय दरले प्रमुख भूमिका खेल्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बनाउँछन् । डलरको मूल्यमा भएको तीव्र उत्तारचढाव र भन्सार राजस्वमा देखिएको सानो फरकले पनि सुनको मूल्यको वृद्धिदरलाई असर गर्ने उनको भनाई छ ।
यता राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोख्रेलले भने नेपाली अर्थतन्त्रमा देखिएको धिमा आर्थिक क्रियाकलापले कमोडिटी मार्केटमा असर पुगेको बताए । ‘पछिल्लो समय देखिएको आर्थिक सुस्तताले सुनको मागमा असर गर्याे’, उनले भने, ‘माग न्यून भएपछि सुन व्यापारीहरुले किनेकै मूल्यमा सुन विक्री गरेकाले वृद्धिदर न्यून भएको होला ।’
खासगरी नेपाल र भारतीय बजारमा सुनको कारोबार तोलामा हुने गरेको छ । विश्वका अन्य राष्ट्रहरुमा भने सुनको मूल्य औंसमा हुन्छ । ग्राममा हिसाव गर्दा एक औंसमा २८.३४ ग्राम र एक तोलामा ११.७ ग्राम सुन हुन्छ । विश्वबजारको कुरा गर्दा पछिल्लो १ महिनामा सुनको मूलय प्रतिऔंस २४ डलरले बढ्दा १ बर्षमा १ सय ६१ डलरले बढेको छ । यस्तै पछिल्लो ५ बर्षमा सुनको मूल्य प्रतिऔंस ७ सय ५ डलर अर्थात ५४ प्रतिशतले बढिसकेको देखिन्छ ।