Logo

टुकुचामा फेरि डोजर चलाउने मेयर बालेनको संकेत, भने–महानगरको कदम सही थियो भन्ने पुष्टि भयो

टुकुचामा फेरि डोजर चलाउने मेयर बालेनको संकेत, भने–महानगरको कदम सही थियो भन्ने पुष्टि भयो



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलामा महानगरले चालेको कुनै कदम खेर नगएको भन्दै फेरि डोजर चलाउने संकेत गरेका छन् । उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा ढल नभई खोला नै भएको भन्दै प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको भन्दै उनले महानगरको कदम सही थियो भन्ने पुष्टि भएको दाबी गरेका छन् ।

मेयर शाहले लेखेका छन्, ‘केही दिनअघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ ।’

टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर बनाइएको भन्दै मेयर शाहले डोजर लगाएर उत्खनन गर्न थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले उच्च अदालतमा रिट निवेदन दिएका थिए । जसमा सुनवाइ गर्दै गत असोजमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो ।

शाहले थप लेखेका छन्, ‘नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।’

यस फैसलाबाट पनि टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको उनको जिकिर छ । उनले अगाडि भनेका छन्, ‘अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL