Logo

लघुबीमामा बढ्दो आकर्षण : ९ महिनामा १ अर्ब ८० करोड संकलन, हालसम्म साढे ४४ लाख बीमालेख जारी

लघुबीमामा बढ्दो आकर्षण : ९ महिनामा १ अर्ब ८० करोड संकलन, हालसम्म साढे ४४ लाख बीमालेख जारी



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत मसान्तसम्म लघुबीमाले विक्री गरेर १ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १५ जीवन बीमा कम्पनीहरुले लघु बीमालेख बेचेर १ अर्ब ८० करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत १ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ आर्जन गर्दा नविकरण बीमालेख बापत जम्मा ११ करोड रुपैयाँ मात्रै आम्दानी गरेका छन् । यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले लघुबीमा अन्तरगत ४४ लाख ५२ हजार २ सय ९५ बीमालेख जारी गरेको तथ्यांकमा उल्लेख छ । गत बर्षकोचैत मसान्तसम्म सक्रिय लघुबीमालेखको संख्या जम्मा २७ लाख १७ हजार मात्रै थियो । अर्थात एक बर्षकै अवधिमा लघुबीमातर्फ जीवन बीमा कम्पनीहरुले १६ लाख ३५ हजार बीमालेख थपेका छन् ।

चैत मसान्तसम्म लघुबीमालेख नै बेचेर नेशनल लाइफले ६० करोड, सिटिजन लाइफले ४१ करोड, रिलायन्स लाइफले २१ करोड र सुर्यज्योति र मेट लाइफले समान १५–१५ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यता चैत महिनाको मात्रै तथ्यांक हेर्दा यो महिना सबै जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेख बेचेर १६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा १५ जीवन बीमा कम्पनीहरुले ३ लाख ५८ हजार ६ सय १० लघु बीमालेख जारी गरेको उक्त बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ ।

चैत महिनामा लघुबीमा बेचेर जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत १४ करोड ७८ लाख र नविकरणीय बीमाशुल्क वापत १ करोड ५७ लाख रुपैयाँ आर्जन गरेका छन् । यस्तै जीवन बीमा कम्पनीहरुले चैत महिनामा सबै प्रकारका जीवन बीमालेख बेचेर ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत २ अर्ब ४८ करोड रुपैयाँ र नविकरणिय बीमाशुलक वापत ८ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेका हुन् । यस अवधिमा १५ जीवन बीमा कम्पनीहरुले ८ लाख ८० हजार बीमालेख जारी गरेका छन् ।

सरकारले लघु बीमा निर्देशिकामा जीवन बीमा कम्पनीहरुले ५ लाख रुपैयाँसम्मको लघुबीमा गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL