Logo

भुटानी शरणार्थी ठगी प्रकरण : एमाले नेता रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पूर्जी जारी

भुटानी शरणार्थी ठगी प्रकरण : एमाले नेता रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको र अहिले खोजी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दियो। यही प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई बुधबार मात्रै काठमाडौंबाट पक्राउ गरेको छ। सोही प्रकरणमा द्वन्द्व विज्ञ तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको भनेर सयौं नेपालीले प्रहरीमा उजुरी दिएका छन्। उजुरीको आधारमा प्रहरीले केही महिना अगाडिदेखि नै अनुसन्धान अगाडि बढाएको थियो। अमेरिका जाने भन्दै पीडितहरुले दिएको रकम राईले समेत लिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुली गर्ने कार्यमा एउटा गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ। उक्त गिरोहको राजनीतिक दलका नेताहरुसँग साँठगाँठ भएको विषय पनि सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL