Logo

चार बर्षदेखि अलपत्र चक्रपथ विस्तारमा फेरि अलमल, डिजाइनमा थपघटले काममा ढिलाई

चार बर्षदेखि अलपत्र चक्रपथ विस्तारमा फेरि अलमल, डिजाइनमा थपघटले काममा ढिलाई



काठमाडौं । चार बर्षदेखि साइट क्लियरेन्सकै कारण अलमलमा परेको चक्रपथ विस्तार आयोजनाअन्तर्गत चक्रपथको दोस्रो खण्ड बिस्तारमा पुनः अलमल देखिएको छ । यसअघि चिनियाँ पक्षले तयार पारेको उक्त खण्डको डिजाइनमा नेपालले थप परिवर्तन गर्न खोजेपछि अलमल थपिएको हो ।

यसअघि चक्रपथ विस्तार आयोजनाको पहिलो खण्ड विस्तार गरिसकेको चिनियाँ ठेकेदार कम्पनीले दोस्रो खण्डको पनि डिजाइन तयार पारिसकेको छ । नेपाली पक्षको आग्रहमा पहिलो खण्डको तुलनामा केहि डिजाईन परिवर्तन गरेको चिनियाँ पक्षलाई नेपालले थप केही बिशेषता थपिदिन प्रस्ताव गरेको थियो । जसमध्ये केही थपिएका विशेषताहरुमा काम गर्न सकिएपनि केहिमा नसकिने जानकारी चिनियाँ पक्षले गराएको थियो ।

नेपाल पक्षले सडक बनाउँदा आकाशेपुलको सट्टामा अन्डरपास बनाउने, सडकको साइडलेनमा युटिलिटी करिडोर बनाउनेलगायतका बिषेशता डिजाइनमा थप्न आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले सीमित स्रोत साधनका कारण उक्त बिषेशताहरु थप गर्न नसक्ने बताएपछि नेपाल सरकारले नै यी विशेषतामा काम गर्नेगरी छलफल अघि बढेको चक्रपथ विस्तार आयोजनाका सूचना अधिकारी सुमित्रा अधिकारीले बताइन् ।

उनका अनुसार चिनियाँ पक्षले नेपालले प्रस्ताव गरेका केहि डिजाईनहरुमा आफुले गर्न नसकिने बताएपछि नेपाल सरकार आफैले गर्नेगरी छलफल अगाडि बढाइएको छ । ‘हामीले चिनियाँ पक्षसँग विभिन्न चरणमा छलफल गर्दा हामीले प्रस्ताव गरेका केहि डिजाईनमा उहाँहरु असहमत हुनुभएको छ,’ उनले भनिन्, ‘अब नेपालले गरेका प्रस्तावहरु नेपालले नै अघि बढाउने कुरा भएको छ ।’ यसका लागि विभागीय प्रमुखहरुसँग, सडक विभागका महानिर्देशकसँग र स्वयं चिनियाँ पक्षसँग पनि बेलाबेलामा छलफल भइरहेको उनको भनाई छ । अब उक्त प्रस्तावहरुमा मन्त्रालयले नै छलफल गर्ने भएको छ । जसका कारण यसको निर्माण केहि धकेलिएको उनले बताइन ।

यसअघि कोटेश्वरदेखि कलंकीसम्म ८ लेनमा सडक विस्तार गरिसकेको चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले नै कलंकीदेखि महाराजगंजसम्मको सडक चौडा गर्ने कार्य अघि बढाउन लागेको छ । त्यसको लागि डिजाईन तयार पारिसकेपनि नेपालले उनिहरुको आग्रहबमोजिम समयमै साइट क्लियरेन्सको काम अघि नबढाईदिँदा काममा ढिलो हुँदै आएको थियो । पहिलो खण्डको विस्तार सम्पन्न लगत्तै दोस्रो खण्डको विस्तार सुरु गर्ने बताईएपनि नेपाली पक्षले चिनियाँ पक्षको आग्रह अनुसार साईट क्लियरेन्सको काम सक्न ४ बर्षको समय लगाएको छ ।

अब भने साइट क्लियरेन्सको शतप्रतिशत काम सम्पन्न भईसकेको आयोजना प्रमुख बाबुराम रापकोटाले जानकारी दिए । उनका अनुसार अब पहिलो चरणअन्तर्गतको साइट क्लियरेन्सको काम सम्पन्न भइसकेपनि दोस्रो चरणअन्तर्गत नेपालले गर्नुपर्ने केहि डिलाईनका कामहरु सम्पन्न हुने चरणमा छन् । यता चिनियाँ पक्ष भने नेपाल पक्षले आफ्नो काम सम्पन्न गर्ने वित्तीकै काम सुरु गर्नेगरी तयारी अवस्थामा रहेको बुझिएको छ ।

चिनियाँ पक्षले यसपल्ट चक्रपथ विस्तार गर्दा हरियाली, आकाशेपुल, अन्डरवे, जेब्रा क्रसिङलगायत पहिलो खण्डमा भएका त्रुटि नदोहोर्याउने बताएको छ । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो परेपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कलभर्टसम्म पुर्याईएको छ । चिनियाँ पक्ष आएर हाल कलंकीदेखि बसुन्धारासम्म मात्रै विस्तार गर्नेछ । त्यसबीचमा महाराजगंजको समस्या समाधान भएमा महाराजगंजबाट पूर्वतिर पनि विस्तारका काम अघि बढाउन सकिने सडक विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL