Logo

१० खर्ब ३२ अर्बको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, ३ खर्ब वैदेशिक ऋण

१० खर्ब ३२ अर्बको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, ३ खर्ब वैदेशिक ऋण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ को लागि १० खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले भोली व्यवस्थापिका संसदमा पेश गर्ने बजेट १० खर्ब २५ अर्ब देखि १० खर्ब ३५ अर्ब रुपैयाँको हाराहारीमा हुने बजेट निर्माण टोलीका एक सदस्यले जानकारी दिए । हाल भएको छलफलमा केही लोकप्रिय कार्यक्रम थपिने तथा केही घट्ने भएकाले भोली विहानसम्ममा अझै केही रकम तलमाथी हुन सक्ने उक्त स्रोतको दावी छ ।

राष्ट्रिय योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको बजेटको सिलिङ दिएको थियो । तर, बजेटमा कर्मचारी तलव, सामाजिक सुरक्षा भत्ता, राष्ट्रिय गौरबका आयोजनालाई बढी बजेट विनियोजन गर्नुपर्ने भएकाले बजेटको आकार बढ्न गएको स्रोतको भनाइ छ । सरकारले यो वर्षको बजेटमा केही लोकप्रिय तथा महत्वाकाक्षी योजना पनि ल्याउने भएको छ ।

सरकारले बजेटको आकार बढेसँगै स्रोत जुटाउनका लागि वैदेशिक ऋण खोज्ने भएको छ । अर्थले ३ खर्ब रुपैयाँ वैदेशिक ऋण जुटाउने गरी बेजट निर्माण गरेको स्रोतको दावी छ । यसैगरी १ खर्ब रुपैयाँ भने आर्थिक वर्ष २०७२/७३ को बजेटबाट तान्ने भएको छ । यस आवमा खर्च नभएको पैसा आगामी आवको बजेटको लागि तान्न लागिएको उक्त स्रोतले जानकारी दिएको छ ।

बजेटमा ५ खर्व देखि ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य लिइएको छ । जसको लागि करको दायर बृद्धिका साथै कतिपय क्षेत्रमा कर बृद्धि गर्न लागिएको छ । मन्त्रालयले सेयर कारोवारमा कर बृद्धि गर्नुका साथै मुल्य अभिबृद्धि कर (भ्याट) समेत लगाउने भएको छ । राजस्व, वैदेशिक ऋण तथा अघिल्लो वर्षको बजेटबाट तान्दा नपुग रकममा भने आन्तरिक ऋण उठाउने तयारी भैरहेको छ । तर, कति रकम आन्तरिक ऋण उठाउने भन्ने विषयमा भने टुङ्गो नलागेको उक्त स्रोतको भनाइ छ ।

सरकारले यसपटको बजेटमा बृद्धा भत्तालाई उल्लेख बृद्धि गर्नुका साथै नयाँ नयाँ योजना समेत ल्याउने भएको छ । केही समय अघि संचार सचिव तथा नेपाल टेलिकका अध्यक्ष दिनेश थपलियाले भने झै टेलिकमका ग्राहकले फोन गर्दा त्यसबाट केही रकम कटाएर जलविद्युतमा लगानी गर्ने योजना बनाएको छ । जस अनुसार जसले टेलिकको नम्बरबाट फोन गर्छ त्यो व्यक्तिले आफुले कल गरेको रकम अनुसारको सेयर प्राप्त गर्ने छ । उक्त व्यवस्था अनुसार प्रतिकल सिमित रकम जम्मा गरेर जलविद्युत आयोजनामा लगानी गरिने स्रोतले जानकारी दिएको छ ।

सरकारले यो वर्षको बजेटमा एक प्रदेश एक जलाशय विद्युत आयोजना, एक घर एक रोजगारी, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, बीमालाई विशेष प्राथमिकता, किसान पेन्सनजस्ता महत्वाकाक्षी योजना ल्याउने भएको छ । यसैगरी, बुढीगण्डकी निजगढन विमानस्थल, तराइ मधेश फास्ट ट्रयाक स्वदेशी पूँजीमा बनाउने गरी यो बजेटले सम्बोधन गर्ने भएको छ । जसमध्ये केही विषय राष्ट्रपति विद्या भण्डारीको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । बजेटले भुकम्प पछिको पुननिर्माणलाई पनि उच्च प्राथमिकता दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्