Logo

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस नेता चौधरी नियुक्त, ५३ जना सांसदको समर्थन

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस नेता चौधरी नियुक्त, ५३ जना सांसदको समर्थन



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । विहिबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

८ दलका सांसदहरुको समर्थनमा चौधरीले आजै अपराहन्न मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १-१ जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि उनको सरकार ढलेको थियो ।

केन्द्रमा सत्ता समीकरण बदलिएपछि माओवादीसहित ५ दलले गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । लुम्बिनीमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्