काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।
फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ । सामाजिक सञ्जालमार्फत् प्राधिकरणले यस्तो जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेको बताएका छन् ।
‘फ्लाई दुवईका पाइलटलाई जहाजमा के समस्या आएको हो, प्रमाण पेश गर्न भनेका छौँ’, प्रवक्ता निरौलाले भने, ‘हामीले चरा ठोक्किएको प्रमाण नदेखेकाले फ्लाई दुवईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।’ उनले सोमबार राति जहाजमा के भएको हो फ्लाई दुवईले प्रमाण दिएपछि मात्रै पूर्ण जानकारी आउने बताए ।