काठमाडौं । सोमबार राति १ सय ६० बढी यात्रु बोकेर दुबईका लागि काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाजमा उड्दाउड्दै आगोको झिल्को देखियो । प्रत्यक्षदर्शीले जहाजमा आको लप्का देखेपछि जहाज दुर्घटना हुन लागेको लख काटे । कतिपयले जहाजको इन्जिन फेल भएकोसमेत अनुमान गरे । तर, केही समयपछि नै दुबई मिडिया अफिसले फ्लाई दुबईका प्रवक्तालाई उद्धृत गर्दै जहाज टेकअफ गर्ने बेलामा चरा ठोक्किएको भन्दै ट्वीट गर्याे ।
यता जहाजमा रहेका पाईलटले भने काठमाडौं र धादिङको आकाशमा केही फन्को लगाएर जहाजको अवस्था ठीक रहेको रिपोर्ट गरेपछि आफ्नो गन्तव्यमा प्रस्थान गरेका थिए । पाइलटले त्रिभुवन विमानस्थलको एटिसीलाई चरा ठोक्किएकोसमेत जानकारी गराएका थिएनन् । तर, फ्लाई दुबईले एकाएक टेकअफ गर्नेबेलामा चरा ठोक्किएको भन्दै बयान दिएपछि भने विभिन्न प्रश्न उठेका छन् ।
यता त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला हालसम्म चरा ठोक्किएको कुनै प्रमाण नभेट्टिएको बताए । यदि चरा ठोक्किएकै अवस्थामा जहाज आफ्नो गन्तव्यमा उड्न पाउँछ ? भन्ने प्रश्नमा उनले जहाजको अवस्था हेरेर उड्न सक्ने वा नसक्ने थाहा हुने बताए । ‘चरा ठोक्किएपछि पनि जहाजको अवस्थाबारे पाइलटलाई जानकारी हुन्छ,’ उनले भने, ‘पाइलटले जहाजको अवस्था ठीक छ उडाउन सकिन्छ भन्ने एकिन गरेपछि जहाज पुनः ल्याण्ड नगरीकनै गन्तव्यतर्फ उडाउन मिल्छ ।’
त्रिभुवन विमानस्थलका अधिकारीहरु भने आकाशमा उडिरहेको जहाजमा आगो देखिएको समस्याका बारेमा अनुसन्धान भइरहेका बताउँछन् । ‘यसबारै हालसम्म के भएको हो भन्ने कुरा एकिन गर्न सकिएको छैन,’ टिआईएका प्रवक्ता सिटौलाले भने, ‘यसबारे एकिन कुरा अनुसन्धान गरिसकेपछि मात्रै थाहा हुन्छ हामी त्यसमा लागेका छौं ।’
काठमाडौंबाट १६० बढी यात्रु बोकेको फ्लाई दुबईको बोईङ ७३७ जहाज टिआईएमा सकुशल रहेको रिपोर्ट गर्दे दुबईतर्फ उडेको थियो । राति १२ : ११ मा उक्त जहाज दुबई एयरपोर्टमा सकुशल अवतरण पनि गरेको थियो । यसको बारेमा थप अनुसन्धान गरिने फ्लाई दुबईले पनि बताएको छ ।
उडड्यनसम्बद्ध जानकारहरु भने फ्लाई दुबईले आफ्नो जहाजमा समस्या भएको हो वा होइन भन्ने एकिन नभइसकेपनि चरा ठोक्किएको भनेर एयरलाइन्सको गल्तीलाई तुरुन्तै ढाकछोप गरेको बताउँछन् । ‘यो घटनामा विस्तृत अध्ययनको खाँचो देखिन्छ । बिमानको प्राविधिक जाँच तथा अन्य विषयमा पनि अध्ययन गरेर मात्रै निष्कर्ष निकाल्नुपर्नेमा फ्लाई दुबईले चरा ठोक्किएको देखाएर आफ्नो कमजोरी लुकाउने प्रयास गरेको देखिन्छ’, एक विज्ञले भने ।
फ्लाई दुबईले यसरी काठमाडौं एयरपोर्टबाट उड्नेबित्तिकै चरासँग ठोक्किएको स्पष्टीकरण दिदा नेपाललाई असर पर्ने उनले बताए । ‘ काठमाडौं एयरपोर्टबाट उड्नेबित्तिकै चरासँग ठोक्किएको भनेपछि यो एयरपोर्ट त रातको समयमा पनि ‘बर्ड स्ट्राइक’ हुनसक्ने रहेछ भनेर गलत सन्देश प्रवाहित भएको छ,’ उनले भने । यसैले यो घटनामा फ्लाई दुबईको स्पष्टीकरणले नेपालको बदनाम हुनसक्ने भएकाले सरकारले तुरुन्त थप स्पष्ट पानुपर्ने उनले बताए ।