Logo

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा. वाग्ले

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा. वाग्ले



काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाई डा. स्वर्णिम वाग्ले सामाजिक सञ्जालबाट धन्यवाद दिएका उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका छन् । आज सम्पन्न मतगणनाअनुसार डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे । तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने, ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’ डा. वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’

उनले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । ‘यहाँहरूले मप्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु । र, तपाईहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।’ डा. वाग्लेले भनेका छन्, ‘यी मतहरू तपाईहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL