Logo

बजेटमा करवृद्धिका नयाँ क्षेत्र खोजिँदै, सेयरमा कर वृद्धि हुने, भ्याट लगाउने तयारी

बजेटमा करवृद्धिका नयाँ क्षेत्र खोजिँदै, सेयरमा कर वृद्धि हुने, भ्याट लगाउने तयारी


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकारले आउँदो शनिबार प्रस्तुत गर्ने तयारी गरेको आर्थिक बर्ष ०७३/७४ को बजेटमार्फत सेयर बजारमा कर लगाउने छलफल चलाएपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । मंगलबार ऐतिहासिक उचाईमा पुगेको नेपालको सेयर बजार कर थोपर्ने हल्लासँगै बुधबारबाट घट्न शुरु भएको छ । बुधबार बजार २० अंकले घटेको थियो ।

सरकारले योजना आयोगले दिएको बजेटको सीमा ९ अर्ब २० करोडभन्दा बढाउन नहुने सुझाव पेश गरेपनि अर्थमन्त्री विष्णु पौडेल बजेटको आकारलाई १० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने तयारीमा लागेपछि अर्थमन्त्रालय करवृद्धिका स्रोत खोज्न विभिन्न विशेषज्ञहरुसँग छलफल चलाउन थालेको छ । बजेटको सीमा बढाउनकै लागि प्रचलनविपरीत सरकारको खातामा पैसा भैकनपनि आन्तरिक ऋण उठाइसकेको छ । अर्थशास्त्रीहरुले सरकारको खातामा पैसा थुप्रिरहेको अवस्थमा आन्तरिक ऋण लिएको घट्नालाई आर्थिक अपराधको संज्ञा दिइरहेका छन । निजीक्षेत्र पनि बजेटको आकार वृद्धिसँगै करको बोझ बढ्ने चिन्तामा रहेको छ र अर्थतन्त्रले धान्न नसक्नेगरी ठूलो आकारको बजेट नल्याउन सरकारलाई दबाब दिइरहेको छ ।

बजेटको आकार बढाउने र वितरणमूखी बजेट तयार गर्ने अर्थमन्त्रीको सोचसँगै अर्थतन्त्रमा नकारात्मक असर पर्ने विश्लेषण निजी क्षेत्रले निकालेको छ । आर्थिक गतिविधिहरु खुम्चिएमा त्यसको असर सेयर बजारमा पनि पर्ने त्रास देखेपछि बुधबार सेयरका लगानीकर्ताहरु पनि आत्तिएका थिए । अर्थमन्त्रालय स्रोतका अनुसार अहिले व्यक्तिमा ५ प्रतिशत र कम्पनीमा १० प्रतिशतका दरले लाग्दै आएको पुँजीगत लाभ करलाई एकमूष्ठ १५ प्रतिशत पुर्याउने तयारी भैरहेको छ । विनाकारण चम्किएको बजारलाई नियन्त्रण गर्न पनि यसरी १५ प्रतिशत कर लगाउनुपर्ने विशेषज्ञहरुको सुझाव पनि आएको छ ।

बजेट वृद्धिसँगै स्रोतको खोजी गर्नुपर्ने भएकोले विशेषगरी राजस्व सचिव राजन खनाल विभिन्न क्षेत्रमा कर लगाएर स्रोतको खोजी गर्नेतिर छलफल चलाइरहेका छन ।

सेयरमा पुँजीगत लाभकरमा वृद्धिसँगै भ्याट पनि लगाउने तयारी भैरहेको छ । ब्रोकर कमिशन घटाएर कारोबारमा भ्याट लगाउने तयारी भैरहेको सूत्रले जानकारी दिएको छ । सो सूत्रका अनुसार यसअघि नै भ्याटबाट यो क्षेत्रले उन्मुक्ति पाइरहेको छ तर कानूनले त्यो छुट नदिएको अर्थमन्त्रालयको ठम्याई रहेको छ ।

तर करमा हेरफेर बजेट प्रस्तुतिको अघिल्लो रात मात्र हुने भएकोले यो छलफल नै अन्तिम भने होइन । निजीक्षेत्रबाट कर बढाउन नहुने तर्क पनि आइरहेको छ भने लाभकर भएकोले लाभ भएपछि तिर्ने हो भन्दै बढाएपनि फरक नपर्ने दुबै खाले तर्क आएको अर्थमन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार अर्थमन्त्रीलाई स्रोत संकलनको समस्या रहेको र बजार अनावश्यकरुपमा बढेको कारण देखाएर कर्मचारीहरुले करवृद्धि गर्न सकिने राय पेश गरेकोले लाभकर बढ्ने र भ्याट कार्यान्वयन हुने संभावना रहेको छ । ‘सरकारको खातामा पैसा भै भै आन्तरिक ऋण उठाइएको छ भने आकर्षक र संभावित क्षेत्रमा कर लगाउन सकिने स्थिति छ कि छैन आफै अनुमान गर्नुहोस,’ स्रोतको भनाई थियो ।

दैनिक डेढ खर्ब रुपैयाँ बराबरको कारोबार हुन थालेको सेयर बजारलाई यसले केही प्रभाव पार्ने अनुमान लगानीकर्ताहरुले गरेका छन । उनीहरुको भनाईमा बजार भरखरै बढ्न थालेकोले कर वृद्धि गरेर हतोत्साहित गरिनु हुँदैन । त्यसमाथि संस्थापक सेयर पनि बजारमा आउँदा आपूर्ति बढ्ने र सेयरमूल्यमा गिरावट आउने संभावना छँदैछ । त्यसैले बजारलाई स्थीर बनाउनकै लागि कर थोपरिनु उचित होइन ।

प्रतिक्रिया दिनुहोस्
MBL