Logo

सडक विभाग र प्राधिकरणबीच टसल : विद्युतको तार भूमिगत अलपत्र, दोषी को ?

सडक विभाग र प्राधिकरणबीच टसल : विद्युतको तार भूमिगत अलपत्र, दोषी को ?



काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गरिरहेको नेपाल विद्युत प्राधिकरणको काममा थप ढिलाई हुने भएको छ । प्राधिकरणले ४ बर्ष वितिसक्दा पनि तार भूमिगत गर्न मुख्य सडक खन्ने अनुमति पाउन नसक्दा काम सम्पन्न कहिले हुने भन्नेमा अन्यौलता बढेको छ । विस २०७६ को फागुनमा ठुलै तामझामबीच सुरु गरिएको तार भूमिगत गर्ने काम हाल काठमाडौं उपत्यकाबाहिर पनि सुरु भइसकेको छ । तर, काठमाडौंमा सरकारी निकयाहरुबीच समन्वय नहुँदा अलपत्र पर्ने आशंका बढेको छ । सडक विभागसँग कुरा नमिल्दा कोर काठमाडौं मानिने, एयरपोर्टदेखि कोटेश्वर, तिनकुनेदेखि माईतिघर, रन्तपार्क वरपरका सडकहरुमा प्राधिकरणले अझै तार भूमिगत गर्न पाएको छैन ।

सडक विभागले मुख्य सडक खन्न नदिदा आयोजनाको म्याद लम्बिँदै गएको देखिन्छ । विभागले मुख्य सडकमा तार भूमिगत गर्ने अनुमति नदिएपछि काम अघि बढाउनै सकस भएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् । ‘हामीले सडक विभागसँग मुख्य सडकमा तार विछ्याउनका लागि खन्नुपर्ने भन्दै अनुमति मागेको २ बर्ष वित्न लाग्यो,’ उनले भने, ‘हालसम्म विभागले सडक खन्ने अनुमति नदिँदा आयोजनाको म्याद नै धकेल्नुपर्ने अवस्था आएको छ ।’

कहिले खानेपानी, कहिले ढललगायतको पाइप विछ्याउने भन्दै अनुमति लिएर सडक अलपत्र पारिदिने प्रवृत्तिका कारण सडक विभागले पनि दोष खेप्दै आएको छ । यसअघि मेलम्ची खानेपानी आयोजनाले खानेपानीको संजाल विछ्याउनका लागि भन्दै विभागसँग अनुमति लिई खनेर अलपत्र पारिदिँदा त्यसको दोष विभागले खेप्नुपरेको थियो । त्यति मात्रै होईन पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले पनि त्यही प्रवृत्ति दोहोर्याएपछि मुख्य सडकमा सडक खन्ने अनुमति दिन नसकिएको विभागले बताउँदै आएको छ ।

हुन त प्राधिकरणले २०७६ सालमा तार भूमिगत गर्नुअघि नै सडक विभागसँग होरिजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका बूँदाहरुमा सहमति गरेको थियो । सोही आधारमा सडक विभागले पनि सबै सडक खनेर तार भूमिगत गर्ने अनुमति दिएको थियो । तर, प्राधिकरणले सम्झौतामा उल्लेख भएबमोजिम सडक सफा नगरिदिएपछि समस्या निम्तिएको हो ।

प्राधिकरणले तार भूमिगत गर्नका लागि खनेको सडक र फुटफाथ नपुरिदिने, सडकभरि हिलो र धुलो छोडिदिने, तारहरु सडकमाथि नै असरल्ल छोडिदिने गर्नाले पुरानो सहमति कायम हुन नसकेको देखिन्छ । सडक विभागका प्रवक्ता रामहरि पोखरेल पनि प्राधिकरणले सम्झौता बमोजिक सडक सफा नगरिदिएको बताउँछन् । ‘प्राधिकरणले सम्झौतामा भएबमोजिम आफनो काम सकिसकेपछि सडक चिटिक्क पारिदिनुपर्ने थियो त्यो भएन,’ उनले भने, ‘जसका कारण मुख्य सडक खन्न हामीले अनुमति दिन सकेका छैनौं ।’

प्राधिकरणले काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा र सहायक सडकमार्ग हुँदै तार भूमिगत गर्ने कार्य सम्पन्न गरिसकेको छ । ती स्थानाहरुका घरघरमा तार पुर्याउने कार्य पनि अघि बढिसकेको छ । तर, रत्नपार्क वरपर, माईतिघरदेखि तिनकुनेसम्म, एयरपोर्ट नजिक र सिंहदरबार आसपास सडक खन्ने अनुमति नपाएकाले काम हुन नसकेको प्राधिकरणको आयोजना व्यवस्थापन प्रमुख ताराप्रसाद प्रधानले बताए । उनका अनुसार धेरैजसो स्थानमा तार भूमिगत गर्ने कार्य सम्पन्न भइसकेको छ । तर, तार भूमिगत गरेपछि सडक पुर्ने कुरामा केही लागत बढी लाग्ने भएकाले पनि सम्झौताबमोजिम भनेकै समयमा सडक पुर्न नसकेको उनले बताए । ‘खास कुनै एक खण्डको सडक खनेर तार तानेर पुर्न र सफा गर्न १ महिनादेखि ४२ दिनसम्म लाग्ने रहेछ’ उनले भने, ‘अझ खनेको सडकमा पिसीसी गर्नुपर्ने भएकाले केही लागत पनि बढी लाग्छ त्यसको टुंगो लाग्नै बाँकी छ ।’

प्राधिकरणले सम्झौताअनुसार सडक सफा नगरिदिँदा दुई सरकारी निकायबीच नै टसलजस्तो देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैमा सेलिवे्रटी हुनाले पनि यसमा केहि असर परेको सडक विभागकै अधिकारीहरु बताउँछन् । कुलमान घिसिङले विभागसँग गरिएको सम्झौता नमानिदिँदा विभागले पनि अनुमति दिन सकेको छैन । जसका कारण प्राधिकरणले नै यसको मूल्य चुकाउनुपरेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने विभागको भनाई छ ।

यता प्राधिकरणले पनि उक्त आयोजना शिलान्यास गर्ने बेलामा सहमतिमा होरिजेन्टल मेसिनको प्रयोग गरि तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरु राखेको थियो । काठमाडौंका मुख्य सडकहरुमा तार भूमिगत गर्नका पुरानै सर्तहरुसहित ब्लक बाई ब्लक गरेर खन्ने, एक ब्लक भूमिगत गरी सकेर सडक पुरीसकेपछि अर्काे ब्लक खन्ने, सडकमा फोहोर नगर्नेलगायतका बँुदाहरुमा सहमति जुटेपछि मात्रै मुख्य सडकमा तार भूमिगत गर्न दिने सडक विभागका प्रवक्ता पोखरेल बताउँछन् ।

प्राधिकरणले बिजुलीका तारहरु पोलमा झुण्डिदा सुरक्षामा खतरा तथा शहरी सौन्दर्यतामा खलल पुगेको भन्द तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । काम अघि बढाएको ४ बर्ष वितिसकेपछि मुख्य सडकमा तार भूमिगत गर्ने कार्यमा अड्चन आएको हो । प्राधिकरणले हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल, भक्तपुर र ललितपुर वितरण केन्द्रअन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाएको छ । यस्तै उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL