काठमाडौं । मौलाकाली केवलकार वैशाख १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । मौलाकाली केवलकार प्रालिद्वारा निर्मित उक्त केबलकार बैशाख १८ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने भएका हुन् ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ ।
केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजामा जाने भक्तजनहरुका लागि सहज हुनेछ । केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने कम्पनीले जानकारी दिएको छ ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रालिद्वारा प्रवद्र्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले बताएको छ । आएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।