Logo

३४ करोडमा ठेक्का लागेको बारपाक-लाप्राक सडक स्तरोन्नतिमा किन भयो ढिलाइ ?

३४ करोडमा ठेक्का लागेको बारपाक-लाप्राक सडक स्तरोन्नतिमा किन भयो ढिलाइ ?



काठमाडौं । पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले ठेकेदार कम्पनीलाई यहीँ आउँदो जेठ २२ गतेसम्म निर्माण सक्ने गरी पहिलोपटक म्याद थप गरिदिएको थियो । म्याद सकिन करिब डेढ महिनामात्र बाँकी रहँदासमेत सडक स्तरोन्नतिको आधा काम पनि सम्पन्न नभएको इञ्जीनियर दीपक बस्नेतले जानकारी दिए ।

“अहिलेको अवस्थालाई हेर्दा ठेकेदार कम्पनीले तोकिएको समयमा काम सक्ने अवस्था देखिँदैन”, उनले भने, “पहिलोपटक थपिएको म्याद २०८० जेठ २१ गतेसम्म मात्र छ ।” ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसक्ने देखिएको उनले बताए । करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ । दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षात्का बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ । समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पु¥याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको धार्चे गाउँपालिका वडा नं ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । “बाटो अवरुद्ध भएर दुई–तीन घन्टा बाटोमै रोक्नुप¥यो भने सुत्केरी हुन नसकेका बिरामी तथा विपद्मा परेका, दुर्घटनामा परेका गम्भीर घाइतेको त ज्यानै जान सक्ने सम्भावना हुन्छ”, उनले भने, “त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक–पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध ग¥यौँ तर सुनुवाइ नै भएन ।”

म्याद सकिनलाग्दा अहिले भने ठेकेदार कम्पनीले विहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ । आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL