Logo

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै, पाउँलान त आवश्यक मत ?

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै, पाउँलान त आवश्यक मत ?



काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले आज सम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ ।

प्रदेशसभाको बैठक आजका लागि बोलाइएको छ । आजको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका थिए ।

पत्रमा लेखिएको थियो, ‘संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभासमक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०।०१।०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावल, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।’

गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गण्डकीको नयाँ सरकारका लागि कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका छन् । २७ सांसदसहित प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसबाट दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमानको पनि दाबी छ ।

दुवै जनाले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्नेमा जोड दिइरहेका छन् । तर, पहिलो नेतृत्व लिने विषयमा दुवैको आफ्नै दाबी छ । शीर्ष नेताहरूले प्रदेशको नेतृत्व सुरुमा कसले लिने भन्ने निर्णय गरेपछि मात्र पाण्डे वा चुमानमध्ये को मुख्यमन्त्री बन्छन् भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्