काठमाडौं । आजदेखि ३ दिनसम्म बारा जिल्लासित जोडिएका सिमा नाकाहरु बन्द हुने भएका छन् । आईतबार बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासँग जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ।
उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
यस्तै मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री र सेवनमा रोक लगाइएको छ। बारा क्षेत्र २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि बैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको सीडीओ सापकोटाले जानकारी दिए।रासस