Logo

आज र भोलि वर्षाको सम्भावना : तुवाँलो हट्ने, गर्मी घट्ने

आज र भोलि वर्षाको सम्भावना : तुवाँलो हट्ने, गर्मी घट्ने



काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना छ ।

काठमाडाँै उपत्यका र अरु प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् । देशका केही स्थानमा वर्षा पनि हुने भएकाले ती ठाउँमा तापक्रम घट्नुका साथै धुम्मिएको मौसम ९तुवाँलो० सुधार भई वायु प्रदूषण घट्ने आंकलन गरिएको उनले बताए । आज तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ ।

पानी नपरेका कारण केही दिनदेखि देशका धेरै ठाउँमा डढेलोको घटना बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहितका ठाउँमा प्रदूषण पनि बढेको छ । तापक्रम बढ्दा गर्मी पनि ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै तातो हावा ‘लु’ बाट जोगिन आग्रह गरेको छ ।
मन्त्रालयले तातो हावा वा ‘लु’ बाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खान आग्रह गरेको छ । दिउँसोको सट्टा सकभर बिहान वा बेलुका काम गर्न, जाँडरक्सी नखान पनि मन्त्रालयको आग्रह छ ।

पानी नपर्दा र निरन्तर तापक्रम बढेपछि पछिल्लो एक हप्ता डढेलो र आगलागीका घटना बढेका छन् । ३५ जिल्लामा डढेलो र आगलागीका घटना भएका छन् । अहिले पनि देशका ९२ ठाउँमा वनमा डढेलो लागिरहेको वन विभागको तथ्याङ्क छ । अस्ति बुधवार एकै दिन ३७९ ठाउँमा डढेलो लागेको थियो ।

एकै दिन ३७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसबाट उत्पन्न वायु प्रदूषणले जनस्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।

डढेलोविज्ञ सुन्दर शर्माका अनुसार पानी पर्याप्त नपर्दासम्म डढेलोको जोखिम कायमै रहनेछ । डढेलो अनियन्त्रित हुँदै गएपछि नियन्त्रण र व्यवस्थापन गर्न वन विभागले सबै निकायसँग संयुक्त पहल गरेर अघि बढ्न देशभरका जिल्ला वन कार्यालयलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL