Logo

एफएनसिसीआइको साधारणसभा आजबाट, नयाँ नेतृत्व चयन हुने

एफएनसिसीआइको साधारणसभा आजबाट, नयाँ नेतृत्व चयन हुने



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसिसीआइको साधारण सभा आजबाट सुरु हुँदै छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

आजवाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलीवाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी यसअघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासंघको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

महासङ्घकोे बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मतदान केन्द्र तोकेको छ । चैत २९ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय तोकिएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । त्यसैले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि चैत ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

“वरिष्ठ उपाध्यक्षका लागि ५० प्रतशितभन्दा बढी मत चाहिन्छ । तीन जना उम्मेदवारमध्ये पहिलो चरणमा कुनै पनि उम्मेदवारले त्यस्तो मत प्राप्त गर्न सक्नुभएन भने बढी मत ल्याउने दुई उम्मेदवारबीच अर्को चरणको निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा स्वतःविजयी हुनेछन्”, निर्वाचन अधिकृत रमणकुमार कर्णले भन्नुभयो ।

महासङ्घका अनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीन वटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको महासङ्घले जनाएको छ ।

प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र भने पहेलो रङको हुनेछ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन जनासम्म मतदान र मतगणना प्रतिनिधि राख्न सक्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको विधान २०४९ (छैटौँ संशोधन) अनुसार निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप एक मत प्राप्त गर्नुपर्नेछ । पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत र थप एक मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनःनिर्वाचन हुने व्यवस्था छ । पुनःनिर्वाचन हुँदा दोस्रोपटक हुने निर्वाचनमा बढी मत प्राप्त गर्ने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ ।

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला नगर सङ्घको ५० प्रतिशत, वस्तुगत सङ्घ सदस्यको २० प्रतिशत र एशोसिएट सदस्यको ३० प्रतिशत मतभार रहन्छ । महासङ्घका अनुसार वस्तुगततर्फ एक सय २३, जिल्ला नगर उवासंघतर्फ एक सय २१, एसोसिएटतर्फ एक हजार ७६२ र द्विराष्ट्रिय सदस्य २० छन् ।

चुनावमा होमिएका सबै उम्मेदवारले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रलाई अझ बढी व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने विषयलाई चुनावी एजेन्डा बनाएका छन् । महासङ्घको भिजन पेपर २०३० कार्यान्वयन पनि सबै उम्मेदवारको एजेन्डामा परेको छ ।

नेपालको तीनखम्बे अर्थनीतिअनुसार खुला बजार नीति अवलम्बन गर्ने र अर्थतन्त्रको विकासमा निजी क्षेत्रकोतर्फबाट महत्वपूर्ण योगदान गर्ने संस्थाका रुपमा महासङ्घ छ । महासङ्घले सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित कानुन तथा नीतिनिर्माण, संशोधन र खारेजी प्रक्रियामा समयसापेक्ष परामर्श दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL