Logo

विश्वबजारमा एकछत्र राज गर्दै अमेरिकी एभोकाडो, नेपालमा उत्पादनको सम्भावना कति ?

विश्वबजारमा एकछत्र राज गर्दै अमेरिकी एभोकाडो, नेपालमा उत्पादनको सम्भावना कति ?



काठमाडौं । हालै सार्वजनिक गरिएको एक तथ्यांकअनुसार नेपालमा घ्युफल भनिने एभोकाडोको प्रसिद्धि विश्वबजारमा फैँलदो छ । तर, विश्वबजारमा एभोकाडोको व्यापारमा भने ल्याटिन अमेरिकाले एकछत्र राज जमाएको छ । अहिले एभोकाडोको सबैभन्दा ठूलो निर्यातकर्ता ल्याटिन अमेरिका बनेको छ ।

अझ खासगरी विश्वभर फैलिएको कोरोना महामारीपश्चात सर्वसाधारणमा बढेको स्वास्थ्य सचेतनाका कारण पनि एभोकाडोको व्यापारमा वृद्धि भइरहेको छ । जसको व्यापारमा भने ल्याटिन अमेरिकाको एकाधिकार रहेको देखिन्छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वबजारमा खपत हुनेमध्ये ७५ प्रतिशत एभोकाडो ल्याटिन अमेरिकाले आपुर्ति गर्छ । मेक्सिकोमा १० हजार बर्ष अघिदेखि नै खेती गरिने भनिएको यसको उत्पादन अमेरिकि देशहरुमा बढी हुने भएपछि पछिल्लो ७ बर्षको अवधिमै यसको उत्पादन प्रतिबर्ष १ करोड ३० लाख मेट्रिकटनबाट बढेर २ करोड ५० लाख मेट्रिक टनसम्म पुगेको छ ।

अझ ल्याटिन अमेरिकी देशहरुमध्ये सबैभन्दा बढी एभोकाडो उत्पादन भने मेक्सिकोले गर्दै आएको छ । त्यसपश्चात एशिया, अफ्रिका, कोलम्बियालगायत महाद्धीपहरुले पनि यसको प्रशस्त उत्पादन गर्ने गरेको देखिएको छ । यता नेपालमा पनि पछिल्लो समय एभोकाडोलाई पौष्टिक फलको रुपमा लिइन थालेसँगै यसको खपत बढेको देखिन्छ । हुन त नेपालमा पनि यसको मास उत्पादन भने हुँदैन त्यै पनि यो बिसं २०२० अघि नै भित्रिएको कृषिविज्ञहरु बताउँछन् । हाल पूर्वका केहि जिल्लाहरुका कृषकहरुले यसको खेती नै थालिसकेको भएपनि भनेबमोजिम माग भने नभएको उनीहरुको भनाई छ ।

तर पनि नेपालले एभोकाडो भने आयात गरेर खपत गरिरहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्षको ८ महिनामा मात्रै २ करोड ९६ लाख रुपैयाँ बराबरको ९६ हजार किलो एभोकाडो आयात गरेको छ । नेपालले यस अवधिमा आयात गरेको एभोकाडो भने केन्या र युगान्डाबाट गरेको हो । तर, नेपालले छिमेकी मुलुक भारत र ल्याटिन अमेरिकी मुलुक मेक्सिकोबाट पनि एभोकाडो भित्र्याउने गरेको तथ्यांकमा उल्लेख छ ।

अहिले नेपाली एभोकाडोको आन्तरिक बजार २० देखि २५ लाख किलो रहेको देखिन्छ । बाहिरबाट वार्षिक २० करोड रूपैयाँ बराबरको एभोकाडो आयात भइरहेको तथ्यांकले देखाउँछ । जम्मा २ प्रतिशत नेपालीले मात्र एभोकाडोको स्वाद लिइरहेको अवस्थालाई समेत हेर्दा नेपालमा यसको ठूलो बजार रहेको देखिएपनि यसको उत्पादनमा सरकारले बिशेष ध्यान नदिएको सम्बन्धित कृषकहरु बताउँछन् ।

हाम्रो शरीरको लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरू एभोकाडोको सिङगो फलफलबाटै प्राप्त गर्न सकिने स्वास्थ्यविद्हरु बताउँछन् । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जो जोकोहीले सेवन गर्न सक्छ । उच्च रक्तचाप लाई कम गराउँने पोटासियम एक यस्तो तत्व हो जुन शरीरभित्रको महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्दछ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL