काठमाडौं । खडेरीसँगै राजधानीमा पानीको मुल्य अकासिएको छ । भुकम्प र लामो समयको खडेरीका कारण राजधानीका इनारमा पानी सुकेकोले ट्याङकरको पानीको मुल्य उच्च रुपमा बढेको हो ।
राजधानीको पानीको माग बढेसँगै मुल्यमा पनि बृद्धि भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । गत वर्षसम्म प्रति ट्याङ्कर १ हजार २ सयदेखि २ हजार रुपैयाँमा बेच्दै आएको पानी हाल १० हजार रुपैयाँसम्म लिएर बेच्नु परेको एक ट्याङ्कर व्यवसायीले बताए । ‘पहिला सानो ट्याङ्करको १ हजार २ सय र ठूलो ट्याङ्करको २ हजार रुपैयाँ लिँदै आएक थियौं,’ ती व्यवसायीले भने, ‘हाल पानी लिन जाने ठाउँमै महङ्गिएका कारण ग्राहकसँग पानी र स्थान हेरेर ५ देखि १० हजार रुपैयाँसम्म लिँदै आएका छौं ।’
व्यवसायीले बालाजुको बोरिङबाट निकालेको पानीको प्रति ट्याङ्कर ६ हजार रुपैयाँसम्म लिँदै आएका छन् भने चाहविल तथा त्यस क्षेत्रबाट निकालिएको पानीको ८ हजार रुपैयाँ लिँदै आएका छन् । तर, मुलबाट ल्याइने तथा पिउनका लागि शुद्धता गरिएको पानी १ ट्यांकरको १० रुपैयाँसम्म लिँदै आएका छन् ।
हाल पानीको मुल्य भन्दा पनि ग्राहकको माग अनुसार पुर्याउन नै समस्या भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पानी ट्याङ्करको अर्डर गरेको १० देखि १५ दिनमा मात्र पालो आउने गरेको छ ।
ट्याङ्करहरुले मागेजति पैसा दिँदा पनि पाउनी पाउन मुस्किल भएको वालाजु घर भएका कृष्ण अघिकारीले बताए । ‘पहिला प्रति ट्याङ्कर १ हजार ५ रुपैयाँ हुँदा व्यवसायीहरु पानी चाहिन्छ भनेर सोध्दै आउथे,’ उलने भने, ‘तर, अहिले पानी चाहियो भनेर फाने गर्दा ट्याङ्करको १० हजार पर्छ भन्छन् ।’ उनीहरुले भनेको जति मुल्य तिर्छुभन्दा पनि भनेको समयमा ल्याइदिँदैनन् । पानीको अर्डर गरेको कम्तीमा १५ दिन कुर्नुपर्ने उनी बताउँछन् ।
यसैगरी, कालिमाटीकी सितल महर्जन पनि पानी पाउनको लागि २ हप्ताभन्दा बढी कुर्नुपरेको बताउँछिन् । ‘ट्याङ्करको पानी चाहियो भनेर सम्बद्ध व्यसायीलाई फोन गर्यो तत्काल पाइँदैन भन्छन्,’ उनले भने, ‘कतिपय व्यवसायीले उच्च मुल्य भन्ने गरेका छन् ।’
ट्याङ्करको पानीको लागि उच्च मुल्य तिर्दा पनि पिउनका लागि उपयुक्त खालको नपाइने सम्बद्ध उपभोक्ताहरु बताउँछन् । कतिपय ट्याङ्करबाट किनिएका पानी भान्सार र लुगाधुनका लागि मात्र प्रयोग गर्न मिल्ने उनको अनुभव छ । ‘ट्याङ्कर व्यवसायीले पिउने पानी भन्दै बेच्छन्,’ मनमैजु घर भएकी फुलमाया मर्जनले भनिन्, ‘तर, लुगाधुँदा पनि कपडा विग्रने खालका हुन्छन् ।’ व्यवसायीले वोरिङ्बाट निकालेको पानी सोझै ट्याङ्करमा भरेर बेच्ने गरेकाले पनि पानीमा शुद्धता नभएको उनको दावी थियो ।