काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर घटने प्रक्षेपण गरेको छ । एडिबीले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । एडिबीले नेपालको यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
एशियाली डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले आफैले प्रक्षेपण गरेको भन्दा आर्थिक वृद्धिदर कम हुने उल्लेख गरेको छ । सरकारले अपनाएको कडा मौद्रिक नीति र यसले निम्त्याएको वस्तुको उच्च मूल्यवृद्धिले आर्थिक वृद्धिमा चाप पर्ने देखिएको प्रतिवेदनमा छ । राष्ट्र बैंकले आयातमा नियन्त्रण, बैंक ब्याजदरमा कडाई गरेपछि यो आवमा आर्थिक वृद्धिरमा केहि संकुचन आएपनि आगामी आर्थिक बर्ष सन २०२४ मा भने पुनः आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण एडिबीको छ ।
यस्तै एडिबीले यो बर्ष नेपालको मुद्रास्फीति भने बढेर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । आव २०२२ मा नेपालको मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । पछिल्लो समय केन्द्रिय बैंकले ब्याजदरमा कडाई गरिदिँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जामा संकुचन आएको देखिएको छ । जसका कारण आयात नियन्त्रण हुन गई वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । जसका कारण आगामी आवमा आर्थिक वृद्धिदरमा केहि सुधार हुने एडिबीको प्रक्षेपण छ । पर्यटन क्षेत्र र सेवा क्षेत्रको चहलपहलले पनि वृद्धिमा सहयोग पुर्याउने एडिबीको प्रतिवेदनमा छ ।
यस्तै एडिबीले कृषि उत्पादनको वृद्धिमा पनि केहि कमी आई चालु आवमा २ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आव २०२२ मा यस क्षेत्रको वृद्धिदर २.३ प्रतिशत पुगेको थियो । चालु आवमा समयमै भित्रिएको मनसुनी बर्षाका कारण धान उत्पादनमा ७ प्रतिशतको वृद्धि हुने अनुमान छ । तर, हिउँदे बर्षा नभएपछि हिउँदे बालीमा ठुलो असर पर्दा यसको असर समग्र कृषि उत्पादनमा परेको एडिबीको भनाई छ । यस्तै बढ्दो बैंक ब्याजदरका कारण निर्माण क्षेत्रको वृद्धिदर भने आधाले घट्ने अनुमान एडिबीेको छ ।