Logo

मिटर व्याजपीडितलाई गृहमन्त्री श्रेष्ठको आश्वासन-ढुक्क भएर घर फर्किनुस, तपाईंहरुका माग पूरा गर्छौ

मिटर व्याजपीडितलाई गृहमन्त्री श्रेष्ठको आश्वासन-ढुक्क भएर घर फर्किनुस, तपाईंहरुका माग पूरा गर्छौ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृह जिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भने, ‘तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नु पर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।’

घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भने, ‘उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनु भएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।’

वीर अस्पतालका मेडिकल अफिसर डा। सञ्जय धरेलले सबै जनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए । ‘उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ’, उनले भने ।

पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागि समेत माग गरेका छन् । ‘सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ’,

सिरहाका श्यामकुमार ठाकुरले भने, ‘हामी जे उद्देश्यले काठमाडौँ आयौं, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।’ मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL