Logo

को हुन् अर्थमन्त्री डा. प्रकाशशरण महत ?, यस्तो छ उनको राजनीतिक पृष्ठभूमी

को हुन् अर्थमन्त्री डा. प्रकाशशरण महत ?, यस्तो छ उनको राजनीतिक पृष्ठभूमी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा दोस्रोपटक मन्त्रीमण्डल गठन भएको छ । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट सिफरिश गरिएका मन्त्रीहरु छन् । आजै शपथ ग्रहण गरिसकेका मन्त्रिहरुको सूचीमा अर्थमन्त्री प्रकाश शरण महत पनि छन् ।

नवनियुक्त अर्थ मन्त्री, नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य पनि हुन् । कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका महतले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका थिए । यस्तै २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रही आएका छन् ।

नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका डा. महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए । २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त भएका उनीसँग २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ ।

२०६६ देखि २०६७ सम्म उनी ऊर्जा मन्त्री बने । ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । भूकम्प, नाकाबन्दी, बाढी पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ । सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ अन्त्य गर्न मद्धत पुर्याएको मान्न सकिन्छ ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यही कार्यकालमा चीनसंगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम उनले गरेको कांग्रेसनिकट नेताहरु बताउँछन् । ो । चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा पनि उनकै पालमा हस्ताक्षर भएको थियो ।

उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा. महतले ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तक पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL