Logo

अभिकर्ताले बीमा कम्पनीमार्फत लिएको कर्जा दुरुपयोग, प्राधिकरणले लगायो कर्जा वितरणमा रोक

अभिकर्ताले बीमा कम्पनीमार्फत लिएको कर्जा दुरुपयोग, प्राधिकरणले लगायो कर्जा वितरणमा रोक



काठमाडौं । पछिल्लो समय बीमा अभिकर्ताहरुले बीमा कम्पनीबाट विभिन्न शीर्षकमा कर्जा लिने र दुरुपयोग गर्ने घटना बढ्दा छन् । बीमा कम्पनीहरुले पनि अभिकर्तालाई प्रोत्साहन गर्नकै लागि विना सुरक्षण कर्जा दिँदै आएका छन् । कालान्तरमा अभिकर्ताबाटै त्यस्ता कर्जाको दुरुपयोग भई बीमितको पैसा नै डुब्ने अवस्था आएपछि नेपाल बीमा प्राधिकरणले कर्जा प्रवाहमा बीमा कमपनीलाई रोक लगाएको छ ।

यसअघि पनि बेलाबेलामा प्राधिकरणले बीमा कम्पनीहरुलाई अभिकर्तालाई बिना सुरक्षण कर्जा वितरणमा रोक लगाउन निर्देशन दिँदै आएको थियो । तर, कम्पनीहरुले प्राधिकरणका विभिन्न निर्देशनलाई नै लत्याउँदै आएका थिए । यसपल्ट भने सबै बीमा कम्पनीहरुलाई प्राधिकरणले आगामी ७ दिनभित्र बीमा अभिकर्तालाई दिएको कर्जाको सम्पूर्ण विवरण प्राधिकरणका बुझाउन निर्देशन दिएको छ ।

प्रोत्साहनबाहेक विभिन्न शीर्षकका कर्जाहरु अभिकर्तालाई दिन नपाइने व्यवस्था भएपनि कम्पनीहरुले धमाधम कर्जा दिईरहेको पाईएपछि यसमा रोक लगाईएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि कमिसन वा प्रोत्साहन दिन पाइने भएपनि विभिन्न शिर्षकमा विना सुरक्षण ठुलो रकम कर्जा पनि दिने गरेको पाईएको छ,’ उनले भने, ‘हामीले कम्पनीहरुलाई चिठी काटेरै यस्तो कर्जा वितरण रोक्न र हालसम्म वितरण गरिएको कर्जाको विवरण प्राधिकरणमा पठाउन भनेका हौं ।’

उनले पछिल्लो समय नगद कर्जा, घर कर्जालगायत शीर्षकमा अभिकर्तालाई ठुलो मात्रामा कर्जा वितरण भइरहेको पाइएको बताए । हालसम्म बीमा कम्पनीले कर्जा प्रवाह गर्ने व्यवस्था नभएपनि कम्पनीहरुले आफुखुसी घर, जग्गा, गाडी, मोटरसाईकललगायत शीर्षकमा विनाधितो करोडौं रुपैयाँ कर्जा दिँदै आएका छन् ।

यस्तो हुँदा कर्जा लिएका बीमा अभिकर्ताले कर्जा फिर्ता नगर्ने प्रवृत्ति बढेको त्यसले बीमितको रकम नै अप्ठ्यारमा पर्न लागेको भन्दै गत बर्ष पुसमा प्राधिकरणले निर्देशिका संशोधन गर्दै कर्जा दिन रोक लगाएको थियो । तर, अभिकर्ताहरुले तत्कालीन बीमा समितिको विरोध गरेपछि समिति निर्देशिका कार्यान्वयनमा पछि हटेको थियो । तर, पुनः पछिल्लो समय पनि बीमा कम्पनीहरुले अटेर गरेरै कर्जा प्रवाह नरोकेपछि बीमा कम्पनीको आम्दानीमा गिरावट आएको देखिएको छ । यता अभिकर्तालाई कर्जा दिँदा कुनै धितो नै नराखेका कम्पनीलाई कर्जा असुलीमा ठूलो झन्झट पैदा भएको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL