काठमाडौं । नेपाल राष्ट्र बैंकले अब एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाइने व्यवस्था गरेको छ । बुधबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै चाँदी आयातका लागि एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एक्सचेन्ज सुविधा पाईने व्यवस्था गरेको हो ।
यसअघि कोरोनाकालमा नै चाँदीको आयातमा कडाई गर्दै राष्ट्र बैंकले एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटहीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो ।
नेपालबाट निर्यात हुने वस्तुहरुको सूचीको पहिलो स्थानमा चाँदीका गरगहना र हस्तकलाका सामग्रीहरु पनि पर्दछन् । सरकारले नेपालको निर्यात व्यापार बढाउने भन्दै विभिन्न वस्तुको निर्यात प्रवद्र्धनमा जोड दिँदै आएको छ । सोहीअनुसार राष्ट्र बैंकले पनि चाँदी आयात केहि खुकुलो गरेको हो ।
यस्तै संशोधित परिपत्रमा चाँदी आयात गरी त्यसका गरगहना हस्तकलाका सामग्री बनाई विदेश निर्यात गर्ने व्यवसायीलाई विक्री सीमा पनि हटाईएको छ । यसअघि सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाई बेच्नका लागि मासिक १ किलोग्रामसम्मको मात्रै सीमा निर्धारण गरिएको थियो । अर्थात बैंकहरुबाट चाँदी खरिद गर्दा यस्ता व्यवसायीहरुले मासिक १ किलोग्रामसम्मको चाँदी मात्रै विक्री गर्छु भन्ने स्वघोषणा देखाउनु पर्दथ्यो ।
अब भने राष्ट्र बैंकले उक्त व्यवस्थालाई संसोधन गरेर निर्यातकर्ता व्यवसायीका लागि भने उक्त सीमा लागू नहुने बताएको हो । तर, निर्यातको भुक्तानीको स्वघोषणा, निर्यात पुष्टि हुने कागजातलगायत भने राष्ट्र बैंकसमक्ष व्यवसायीले पेश गर्नुपर्नेछ । यस्तै व्यवसायीहरुले चाँदीको आयात, व्यापार, निर्यातलगायतको विवरण पनि प्रतिमहिनाको पहिलो हप्ताभित्रै राष्ट्रबैंकसमक्ष पेश गर्नुपर्ने व्यवस्था परिपत्रमा गरिएको छ ।
यता भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक बर्षको ८ महिना अर्थात साउनदेखि फागुनसम्म १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १५ हजार ८ सय ५६ किलो चाँदी आयात गरेको छ । यसबाट यस अवधिमा नेपालले करिव १७ करोड रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको तथ्यांकमा उल्लेख छ । यति मात्रै होइन नेपलले पनि विदेशबाट आयात गरेको चाँदीलाई प्रशोधन गरी यसै अवधिमा १३ करोड ३० लाख रुपैयाँ बराबरको ५ सय ४३ किलो चाँदीका गरगहना विदेश निर्यात गरेको छ ।