काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय भएको छ। महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएकाले उनको मुद्धा नचल्ने निर्णय भएको हो ।
यस्तै उनी अमेरिकी नागरिक हुनुअघि वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको भन्दै पनि यो मुद्धालाई नचलाईने निर्णय भएको अदालत स्रोतले जानकारी दिएको छ ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो। उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।