Logo

बैंक, लघुवित्त र सहकारीको वृहत समीक्षा गरी प्याकेजमा समाधान खोज्छौं : प्रधानमन्त्री

बैंक, लघुवित्त र सहकारीको वृहत समीक्षा गरी प्याकेजमा समाधान खोज्छौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।

‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो । तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन् । सहकारीहरूमा पनि समस्या देखिएका छन् । यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ,’ उनले भने ।

‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ । त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौं । केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु । बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं,’ उनले थपे । बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL