काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते संसदबाट विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनमा आवद्व दलहरुसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिन लागेका हुन् । प्रचण्डले विश्वासको मतका लागि कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको जानकारी दिए । ‘प्रधानमन्त्रीले चैत ६ या ७ गते विश्वासको मत लिनु हुन्छ’, गजुरेलले भने,‘त्यसका लागि सरकारलाई समर्थन गर्ने दलहरुसँग छलफल भइरहेको छ ।’
गजुरेलका अनुसार संसदमा दर्ता भएका सत्यनिरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि अगाडि बढाउने गरी छलफल चलिरहेको छ । यसअघि स्थगित संसद बैठक आगामी गतेका लागि तय गरिएको छ । हाल सभामुख देवराज घिमिरे बहराइन छन् । उनी आए लगत्तै संसद बैठक पनि बस्ने छ ।
पुस १० गते समर्थन दिएको एमालेले फागुन १५ गते फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका थिए । त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव भएकाले यसबीचमा उनले विश्वासको मत लिन पाएका थिएनन् ।
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्रीलाई अब नेपाली कांग्रेसले समर्थन दिएपछि सरकार सुरक्षित हुनेछ । प्रचण्डलाई कांग्रेससँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर एमाले र राप्रपाले पनि साथ छाडेपछि प्रचण्ड अल्पमतमा छन् । तर अब कांग्रेससहित १० दलीय गठबन्धन बनेकाले उनको सरकार सजिलै टिक्ने छ ।