काठमाडौँ । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ शेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ ।
‘शुरु–शुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि शेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा शेयर कारोबार गर्ने छन्’, इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालि नेपालगञ्जका प्रमुख उदय अधिकारी भन्छन् । उनले स्थापनाकालमा घर–घरमा पुगेर बैंक र डिम्याट खाता खोल्न प्रोत्साहित गरेको र त्यसबाट प्रभावित भएर आठ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिँदै प्राथमिक निष्कासन (आइपिओ) परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोबार गर्नेको संख्या कम भएको बताए ।
शेयर कारोबारका विषयमा एउटा घरमा एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जनासम्मको सेयर कारोबार गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । अधिकारीले खासगरी विद्यार्थीले आफ्नो आइपिओमार्फत परेको शेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताए । शेयर कारोबारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको सिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढ्ने विद्यार्थी शेयर कारोबारमा बढिरहेका छन् । यसबाहेक, शिक्षा, मानविकी, वाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोबार गरेका छन् ।
उनले कोरिया, कुवेत, जापान र खाडी मुलुकमा वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको शेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको शेयर लगानी बढी भएको बताए । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको संख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोबार गर्ने गरेको पाइएको छ ।
ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार कलेजमा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताए । त्यसबाट सेयर बजारको दोस्रो बजारमा कारोबार गर्ने विषय थाहा नभएकाले त्यसबारको पनि चर्चा चलाइएको छ ।
‘अहिले पछिल्लो समय दोस्रो बजारमा कारोबार गर्नेको संख्या पनि बढेको छ’, उनले भने । बजार घट्दा कारोबार तथा संख्या कम हुन्छ र सूचक घटेकाले मनोबल पनि घट्छ यस्तो बेला लगानीकर्तालाई आत्तिन नहुनेमा जोड दिँदै राजनीतिक अस्थितरताको अन्त्य हुनेबित्तिकै बजारले लय समात्ने अधिकारीले विश्वास व्यक्त गरे ।
उनले बजारको ‘इन्डेक्स’ न्यूनतम अवस्थामा रहेको औल्याउँदै दीर्घकालीन लगानीकर्तालाई अहिले पनि लगानीको अवसर भएको बताए । ‘मेरो विचारमा अहिले लगानी गर्ने राम्रोसँग लाभान्वित हुन्छन्’, अधिकारी भन्छन् । शेयर लगानीकर्ता शिव सुवेदीले राष्ट्र बैंकको गलत नीतिका कारण शेयर बजार उकालो लाग्न नसकेको आरोप लगाउँदै ठूला लगानीकर्ताले बजारमा चलखेल गरेको बताए । उनले एक दिन बजार बढाउने र त्यसमा साना लगानीकर्ता फस्ने गरेको अनुभव सुनाए । ‘राजनीतिक स्थायित्व मात्रै भए पनि बजार बढ्नमा सहयोग हुन्छ’, उनले भने ।
विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलो पटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता आउँछन् । कुनै बेला २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गरेको छ । रासस