काठमाडौं । सरकारले कर्मचारीको तलब २० प्रतिशतसम्म बढाउने भएको छ । यस पटकको बजेटबाट कर्मचारीको तलब २० प्रतिशतसम्म बढाउने गरी छलफल अघि बढाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘हाल कर्मचारीको तलब न्युनतम १० देखि अधिकतम २० प्रतिशतसम्म बढाउने तयारी भइरहेको छ,’ ती अधिकारीले भने, ‘तर, त्यसको विचमा कति प्रतिशत बढ्छ एकिन भएको छैन ।’
सरकारले अघिल्लो २ वर्ष निजामती कर्मचारीको तलव बृद्धि गरेको थिएन । आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तव्यबाट बृद्धि गर्ने तयारी भएपनि भुकम्पका कारण रोकिएको थियो । तर, यस पटक भने बृद्धि गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
२ वर्ष यता तलब नबढेकाले कर्मचारीहरुले पनि तलब बृद्धिका लागि दवाव दिँदै आएका छन् । एमाले नेतृत्वको सरकार भएका कारणले पनि यस पटक कर्मचारीको तलब बृद्धि हुने सम्बद्ध सुत्रले जानकारी दिएको छ ।