Logo

बाटो नै नभएको ठाउँमा पुल : ५ करोड विगो दावीसहित ३ जनाविरुद्ध मुद्धा दर्ता

बाटो नै नभएको ठाउँमा पुल : ५ करोड विगो दावीसहित ३ जनाविरुद्ध मुद्धा दर्ता



काठमाडौं । सडक नै नभएको ठाउँमा पुल बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिडिई ओमराज ढुङ्गानाविरुद्द मुद्दा दायर गरेको हो ।

उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । भ्रष्टाचार गरेको आरोपमा तीनै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

गोरखाको दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग भएको भन्दै आयोगमा परेको उजुरी उपर अनुसन्धान गरिएको थियो र सोही अनुसार अनुसन्धान हुँदा गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको पाइएको थियो । अख्तियारले उनीसंग ५ करोड ४५ लाख ५२ हजार ६७१ रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

उक्त कार्यमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालय अन्तर्गत प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ पनि संलग्न रहेको आयोगको आरोप छ । यस्तै पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाले पनि उक्त आयोजनामा बदनियतपूर्वक कार्य गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL