Logo

अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि गर्‍यो सात अर्ब ५० करोड स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि गर्‍यो सात अर्ब ५० करोड स्रोत सुनिश्चित



काठमाडौँ । अर्थ मन्त्रालयले चालु आवमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

रासायनिक मल खरिदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने छ । दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने छ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँँदै अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्