Logo

बर्ड फ्लु लागेर नष्ट गरिएका कुखुराको क्षतिपुर्ति दिने, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

बर्ड फ्लु लागेर नष्ट गरिएका कुखुराको क्षतिपुर्ति दिने, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय



काठमाडौं । सरकारले चालु आर्थिक बर्षभित्र बर्डफ्लु लागेर नष्ट गरिएका कुखुराहरुको क्षतिपुर्ति दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त निर्णय गरिएको जानकारी दिएकी हुन् ।

उनका अनुसार बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आव २०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरुको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत वितरण गरिने भएको छ । यस्तै हिजो बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापना गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ ।

बिदालाई व्यवस्थित गर्न यस पटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यस्तै मन्त्रिपरिषदको बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्नेगरी फिर्ता लिने निर्णय गरेको छ ।

सरकारले २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने, मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नम्बर १ को ०४१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL