Logo

३ महिनाको लागि पेट्रोलियम र ४ महिनाको लागि ग्याँस स्टोरेज गर्दै सरकार

३ महिनाको लागि पेट्रोलियम र ४ महिनाको लागि ग्याँस स्टोरेज गर्दै सरकार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले आगामी दिनमा पेट्रोलिय अभाव न्युनिकरणका लागि भण्डारण (स्टोरेज) क्षमता बढाउने भएको छ । भारतले लगाएको नकाबन्दीको कारण ठूलो समस्या सिर्जना भएको भन्दै स्टोरेज क्षमता बढाउने निर्णय गरिएको आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिए । उनका अनुसार आज विहान मात्रै मन्त्रीस्तरीय निर्णबाट सो कुराको टुङ्गो लगाइएको हो ।

उनका अनुसार ३ महिनाका लागि आवश्यक पेट्रोलियम र ४ महिनाका लागि आवश्यक ग्याँस स्टोरेज गरिने छ । ‘नेपाल आयाल निगमलगायतका नियकासँग विभिन्न चरणमा छलफल गरी स्टोरेज क्षमता बढाउने निर्णय गरेका छौं,’ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित आपूर्ति व्यवस्थाका विद्यमान चुनौती सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘आगामी दिनमा नेपाली जनताले अहिलेको जस्तो अभाव भोग्नु पर्दैन ।’

जस अनुसार २ महिनाका लागि आवश्यक ग्याँस सरकार र थप २ महिनाका लागि आवश्यक निजी क्षेत्रले स्टोरेज गर्नुपर्ने समेत उनले जानकारी दिए । हाल सरकारले पाँचखाल, नुवाकोटलगायत विभिन्न ५ स्थानमा पेट्रोलियम स्टोरेज बनाउने तयारी गरेको छ ।

पेट्रोल तथा ग्याँस जस्ता वस्तुलाई राष्ट्रिय गौरवको आयोजनामा रान्नुपर्ने जानकारी दिँदै आगामी दिनमा सार्वजनिक निजी साझेदारी अनुरुप आयात गरिने मन्त्री पुनले बताए । ‘आपूर्ति सम्बन्धी व्यवस्था विभिन्न क्षेत्रसँग समेटिएको छ,’ उनले भने, ‘सोही अनुरुप यससँग सम्बन्धी विभिन्न नीति नियम परिमार्जनको तयारीमा छ ।’

कार्यक्रममा चेम्बरका सचिव सन्तोष पाण्डेले आगामी दिनमा सर्वसाधारण र होटल तथा रेष्टुराँका लागि फरक–फरक तौलका सिलिण्डर उपलब्ध गराउनु पर्ने बताए । ‘अहिले बजारमा व्यवसायीले होटल तथा रेष्टुराँमा बढी ग्याँस दिए भनेर आरोप लगाइरहेका छन्,’ उनले भने, ‘सर्वसाधारणका लागि १४ र होटलका लागि १९ किलोग्राम ग्याँस उपलब्ध गराउने हो भने यो समस्या हट्ने छ ।’ हाल नेपालमा ६५ लाख सिलिण्डर रहेको र त्यसको २० प्रतिशतमात्र होटल रेष्टुराँले खपत गरिहेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले तत्काल ग्याँस अभाव हटाउनका लागि अर्को रिफाइनरीबाट पनि लोडिङ गर्नुपर्ने जानकारी दिए । ‘हाल भारतका विभिन्न ४ स्थानबाट लोडिङ भइरहेको छ,’ उलने भने, ‘अव भारतकै अर्को ठाउँबाट पनि लोडिङ शुरु गरिनुपर्छ ।’ यहि ४ ठाउँबाट मात्रै लोडिङ गर्ने हो भने ग्याँसको समस्या यथावत नै रहने उनको भनाइ छ ।

सामान्य अवस्थामा मासिक ३० हजार मेट्रिक टन ग्याँस आयात हुँदै आएकोमा अप्रिलमा घटेर २७ हजार ७ सय मेट्रिक टनमा आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL