Logo

चक्रपथ विस्तारमा चार वर्षदेखि लफडै-लफडा : नेपालले साइट क्लियर गर्दैन, चीनले त्यही निहुँमा काम शुरु गर्दैन

चक्रपथ विस्तारमा चार वर्षदेखि लफडै-लफडा : नेपालले साइट क्लियर गर्दैन, चीनले त्यही निहुँमा काम शुरु गर्दैन



काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विस्तारमा चार वर्षदेखि लफडै–लफडा देखिएको छ । चार बर्षदेखि अलपत्र चक्रपथ दोस्रो खण्डको विस्तार नेपाली पक्षकै कारणले धकेलिँदै आएको छ । चक्रपथ विस्तारको जिम्मा पाएर डिपिआर बनाउन चीन फर्केको चिनियाँ ठेकेदार कम्पनीले साइट क्लियर नभई काम सुरु नगर्ने अडान राखेको छ । नेपाली पक्षले साइट क्लिरिङको काम सुरु गरेको ४ बर्ष पुग्यो । तर, हालसम्म पनि न साइट क्लियर हुन सकेको छ न डिपिआर नै चिनियाँ पक्षले बनाएको छ ।

यसअघि कोटेश्वरदेखि कलंकीसम्म ८ लेनमा सडक विस्तार गरिसकेको चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले नै कलंकीदेखि महाराजगंजसम्मको सडक चौडा गर्ने जिम्मेवारी पाएको छ । पहिलो खण्डको विस्तार सम्पन्न लगत्तै दोस्रो खण्डको विस्तार सुरु गर्ने बताइएपनि नेपाली पक्षले चिनियाँ पक्षको आग्रहअनुसार काम नगर्दा समस्या निम्तिएको हो । दोस्रो खण्डको बीचको दूई लेन पुरानै अवस्थामा संचालन भइरहेपनि दायाँबायाँका २÷२ लेन सडकका लागि स्थान खाली गर्ने कार्य पछिल्लो ४ बर्षदेखि जारी छ । तर, काम हुन सकेको छैन । ४ बर्षअघि उक्त सडकखण्ड चौडा बनाउनका लागि नेपाली पक्षलाई साइट क्लियर गर्न आग्रह गरेर डिपिआर बनाउन भन्दै चीन फर्केको प्रावधिक टोली नै अन्यौलमा छ ।

साइट क्लियरमै सकस

नेपाली पक्षले चीनले सडक विस्तार गर्ने भनेको क्षेत्र कलंकीदेखि महाराजगंजसम्म विजुलीका पोल, तार, खानेपानी, ढल, घरटहरा, रुखलगायत सबै हटाएर क्लियर गरिसकेको बताएपनि धेरै स्थानमा साइट क्लियर नभएको चिनियाँ पक्षको दावी छ । चिनियाँ पक्षले खासगरी २०७५ सालको अन्तिममा पहिलो खण्डको काम सम्पन्न गर्नेवित्तीकै दोस्रो खण्डको काम सुरुवात गर्ने योजना बनाएको थियो । तर, पहिलो खण्डमा साइट क्लियर नै नभईकनै काम थाल्दा बाधा आएको भन्दै दोस्रो खण्डमा साइट क्लियर गरेपछि मात्रै काम सुरु गर्ने सर्त राख्यो ।

चिनियाँ अनुदानमै निर्माण हुन लागेको उक्त सडकखण्डको साइट क्लियर गर्न नेपाली पक्षले जिम्मा पाएकोमा सडकको दायाँवायाँ ३१ मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचनालाई सार्नुपर्ने, भत्काउनुपर्ने लगायतका काम थिए । धेरैजसो स्थानमा साइट क्लियरको काम सम्पन्न भएपनि महाराजगंज चोक, गोंगबुको शिव मन्दिर र स्वयम्भुमा अझौ समस्या रहेको बताइन्छ ।

यसका लागि नेपाली पक्षले बाधा भएका ठाउँमाबाहेक अन्य स्थानमा काम सुरु गर्न आग्रह गरिसकेको छ । अन्य स्थानमा चिनियाँ पक्ष राजी भएपनि गोंगबुस्थित शिव मन्दिर भने सार्नुपर्ने चक्रपथ विस्तार आयोजनाकी प्रमुख सजना अधिकारीले बताईन् । उनका अनुसार साइट क्लियरको काम पुर्ण रुपमा सम्पन्न भइसकेको छ । अब एउटा मन्दिर पन्छाएपछि काम सुरु गर्ने भन्ने कुरा चिनियाँ पक्षबाट सुन्नमा आएको छ । ‘गोंगबुको मन्दिर हटाउन हामीले सुरु गरिसकेका छौं,’ उनले भनिन्, ‘यसका लागि हामीले स्थानीयसँग समन्वय गरेका थियौं स्थानीयले सोही मन्दिर अर्काे ठाउँमा बनाएर स्थापना गर्ने सहमति भएको छ ।’

सहमतिअनुसार गोंगबु चोक नजिक रहेको शिव मन्दिर स्थानीयहरुले अन्य स्थानमा बनाएर स्थापना गर्न सहमति भईसकेको उनले बताईन् । सोहीअनुसार सडकको राइट अफ वे मा रहेको मन्दिर पन्छाउन र अर्काे स्थानमा मन्दिर बनाउन सुरु गरिएको उनको भनाई छ ।सबैभन्दा अप्ठ्यारो मानिएको महाराजगंज चोकका घर र स्वयम्भुको केहि संरचना भने तत्काल हटाउन नसकिने र त्यसको विकल्पमा जानुपर्ने भन्दै महाराजगंजसम्म सडक विस्तार नगरी बसुन्धाराको कलभर्टसम्म मात्रै विस्तार गर्ने तयारी गरिएको समेत उनले बताइन् । यस्तै स्वयम्भुमा अन्डरवे वा अन्य विकल्प गर्न सकिने सडक विभागले जनाएको छ । यी विकल्पमा पनि चिनियाँ पक्षले करिव हुन्छ भनिसकेको अवस्था भएपनि निर्माण कार्य अघि बढाउन भने चिनियाँ पक्ष आएको छैन ।

चिनियाँ पक्षले यसपल्ट चक्रपथ विस्तार गर्दा हरियाली, आकाशेपुल, अन्डरवे, जेब्रा क्रसिङलगायत पहिलो खण्डमा भएका त्रुटि नदोहोर्याउने बताएको छ । तर, हालसम्म चिनियाँ ठेकेदार पक्षले उक्त आयोजनाको डिजाइनसमेत बनाएको छैन । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो भएपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कलभर्टसम्म पुर्याईएको छ । चिनियाँ पक्ष आएर हाल कलंकीदेखि बसुन्धारासम्म मात्रै विस्तार गर्नेछ । त्यसबीचमा महाराजगंजको समस्या समाधान भएमा महाराजगंजबाट पूर्वतिर पनि विस्तारका काम अघि बढाउन सकिने सडक विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL