Logo

भैरहवामा पनि बन्ने भयो एकीकृत जाँच चौकी, भारतीय कम्पनीलाई जग्गा हस्तान्तरण

भैरहवामा पनि बन्ने भयो एकीकृत जाँच चौकी, भारतीय कम्पनीलाई जग्गा हस्तान्तरण



काठमाडौं । लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ ।

यही माघ २२ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउलाई आइसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको छ । यससँगै यसअघि भैरहवा भन्सार कार्यालयले पार्किङको रुपमा प्रयोग गर्दै आएको निर्माणस्थल खाली गराइएको छ । ठेक्काको अन्तिम कामका लागि फाइल काठमाडौँ पठाएको र अबको एक साताभित्रै भारतबाट मेसिन ल्याई काम सुरु गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि इरशाद अहमदले जानकारी दिए ।

करिब १५ वर्ष अघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि आइसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन । नेपालतर्फ ठेक्काका लागि काम सुरु हुने निश्चित भए पनि भारततर्फ भने ठेक्का लाग्न सकेको छैन । यद्यपि भारतीय पक्षले पनि जग्गा अधिग्रहण गरी पर्खाल लगाउने काम भने गरिरहेको छ ।

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आइसीपीको हो । वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो । यीमध्ये वीरगञ्ज आइसीपी निर्माण भई सञ्चालनमा आइसकेको छन भने नेपालगञ्जमा निर्माणाधीन र भैरहवामा निर्माण हुने अवस्थामा पुगेको हो ।

आइसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ । सबै आइसीपी भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने हो । यसर्थ भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनीले एक अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँमा निर्माणको काम पाएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका आयोजना प्रमुख विदुर खडकाले जानकारी दिनुभयो । भारतीय ठेकेदारले दुई वर्षभित्र निर्माण काम सम्पन्न गरी नेपाली पक्षलाई बुझाउनुपर्ने शर्त छ ।

पैँतीस दशमलव ११ हेक्टरमा फैलिएको आइसीपीमा आयाततर्फ ६ सय ९२ र निर्याततर्फ २ सय ७० सम्म ट्रक पार्किङ गर्न मिल्ने छ । आइसीपी निर्माणले भन्सारसँग सम्बन्धित सबै निकाय एउटै छानामुनि हुने हुँदा निकासी र पैठारी दुवैमा सहज हुने विश्वास लिइएको छ । यसको साथसाथै व्यापारिक लागत मेत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहजरुपमा सेवा प्रदान गर्न सकिनेलगायत अन्य काममा पनि सहज हुने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL