Logo

अधिकांश बस्तुको बृद्धिदर घट्यो, जीडीपीमा कुन क्षेत्रको योगदान कति ?

अधिकांश बस्तुको बृद्धिदर घट्यो, जीडीपीमा कुन क्षेत्रको योगदान कति ?


बिजखबर संवाददाता
0
Shares

चालू आर्थिक वर्षको पहिलो ९ महिनामा अधिकांश बस्तु तथा सेवाको बृद्धिदर ओरालो लागेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार कुल ग्राह्स्थ्य उत्पादनमा योगदान दिने अधिकांश बस्तु तथा सेवाको बृद्धिदर ओरालो लागेको छ भने ६ वटाको ऋणात्मक नै भएको छ ।

सो अवधिमा उद्योग, खानी तथा उत्खनन, विद्युत ग्याँस तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुराँको बृद्धिदर ऋणात्मक देखिएको छ । जसमध्ये सवैभन्दा बढी उद्योगको बृद्धिदर ९ दशमलव ८६ प्रतिशतले घटेको छ भने दोस्रोमा खानी तथा उत्खननको ६ दशमलव ५४ प्रतिशतले ओरालो लागेको छ । यसैगरी, सो अवधिमा यातायात संचार र स्वास्थ्य क्षेत्रको बृद्धिदर भने घटेको छ ।

तर, सो अवधिमा सार्वजनिक खर्च, मत्स्या, वित्तीय मध्यस्तता तथा अन्य सामुदायित क्षेत्रको बृद्धि भने  अघिल्लो आवको तुलनामा उकालो लागेको छ ।

GDP-contributions

 

कृषि

सो अवधिमा जीडीपीमा कृषि क्षेत्रको योगदान पनि घट्ने अनुमान गरिएको छ । यस अघि जीडीपीमा ३२ दशमलव २८ प्रतिशत योगदान दिँदै आएको कृषि क्षेत्रको योगदान घटेर ३१ दशमलव १९ प्रतिशतमा झर्ने प्रारम्भिक अनुमान गरिएको छ । चालू आर्थिक बर्षमा यस क्षेत्रको कुल मूल्य अभिबृद्धि वार्षिक बृद्धिदर १ दशमलव १४ प्रतिशत रहने देखिएको छ । प्रमुख बालीहरु जस्तै धान, गहुँ, कोदो आदिको उत्पादनमा आएको ह्रासका कारण यस क्षेत्रको कुल मूल्य अभिबृद्धि बार्षिक बृद्धिदर घटेको अनुमान गरिएको हो । यस अवधिमा सवैभन्दा बढी धानको उत्पादन १० दशमलव २२ प्रतिशतले घट्ने देखिएको छ ।

 

मत्स्यपालन

चालु आर्थिक बर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले जिरो दशमलव ५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । चालू आर्थिक बर्ष यस क्षेत्रको योगदान अघिल्लो आवको तुलनमा कुल मूल्य अभिबृद्धि बार्षिक बृद्धिदर ११ दशमलव ७६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । मत्स्य विकासको क्षेत्रमा सरकारी तथा गैर सरकारी क्षेत्रको प्रयासहरु सफल हुदै गएको तथा अधिकतम मत्स्य उत्पादनहुने क्षेत्र तराइमा भुकम्पको प्रभाव नपरेका कारण सो क्षेत्रको बृद्धिदर बढेको हो ।

खानी तथा उत्खनन्

कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले जिरो दशमलव ५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा चालू आवमा कुल मूल्य अभिबृद्धि बृद्धिदर ६ दशमलव ५४ प्रतिशतले ह्रास हुने प्रारम्भिक अनुमान गरिएको छ । भूकम्प अति प्रभावित जिल्लाहरूमा ढुङ्गा, गिटी, बालुवा र माटोको उत्खनन्मा निकै ह्रास आएको र पक्की घर निर्माणमा सरकारले लगाएको रोकसँगै यसमा गिरावट आएको हो ।

GDP-nepal

 

उद्योग

उद्योग क्षेत्रले देशको कुल ग्राह्स्थ्य उत्पादनमा ५ दशमलव ५३ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । चालू आवमा यो क्षेत्रको मूल्य अभिबृद्धि ९ दशमलव ८६ प्रतिशतले ह्रास हुने प्रारम्भिक छ । सीमानाकामा भएको अवरोधका कारण इन्धन तथा कच्चा पदार्थको अभाव र देशका विभिन्न भागमा भएका बन्दका कारण उद्योगहरु सञ्चालनमा आउन नसकेकोले यस्तो ह्रासको अवस्था आएको हो ।

विद्युत, ग्यास तथा पानी

चालु आर्थिक बर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको १ दशमलर ०२ प्रतिशत योगदान दिएको छ सो अवधिमा यस क्षेत्रको कुल मूल्य अभिबृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ६६ प्रतिशतले ह्रास हुने प्रारम्भिक अनुमान गरिएको छ । भोटेकोशी, मैल, सिप्लिजस्ता जलविद्युत उत्पादन केन्द्रहरु भूकम्प पछि हालसम्म पनि सञ्चालनमा आउन नसक्नु, र लामो खडेरीका कारण नदीमा पानीको प्रवाहमा आएको ह्रास हुन गएको हो ।

निर्माण

निर्माण क्षेत्रले ६ दशमलव ८८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । तर, चालू आवको यस क्षेत्रको कुल मूल्य अभिबृद्धि ३ दमलमलव ९८ प्रतिशतले ह्रास आउने प्रारम्भिक अनुमान गरिएको छ । उद्योगहरुको बन्दका कारणले स्वदेशी निर्माण सामाग्री आपुर्तिमा गिरावट र सीमानाकामा भएको अवरोधले आयातित निर्माण सामाग्रीे अभावका कारणले गिरावट आएको हो ।

थोक तथा खुद्रा व्यापार

चालु आर्थिक बर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १४ दशमलव २३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ को तुलनामा चालूवमा कुल मूल्य अभिबृद्धि १ दशमलव १३ प्रतिशतले ह्रासहुने प्रारम्भिक अनुमान रहेको छ । प्रमुख कृषिजन्य उत्पादनमा आएको ह्रास, उद्योग क्षेत्रमा भएको उत्पादनको कमी, सीमानाका अवरोधले आयातजन्य वस्तुको आयातमा आएको कमीका कारणले गत बर्षको तुलनामा यस बर्ष यस क्षेत्रको बृद्धिदर नकारात्मक हुन गएको हो ।

होटल तथा रेष्टुरेन्ट

यस क्षेत्रले २ दशमलव ०८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा चालू आवमा ४ दशमलव ८५ प्रतिशतले कुल मूल्य अभिबृद्धि ह्रास हुने अनुमान रहेको छ । भुकम्प तथा सीमानाका अवरोधका कारणले पर्यटकको आगमनमा आएको कमी, इन्धनको अभावमा होटल व्यवसाय आफै संकुचनमा रहेको अवस्थामा यातायात क्षेत्रमा आएको संकुचनले आन्तरिक पर्यटनमा समेत गिरावट आएको छ । जसको असर यस क्षेत्रमा पर्न गएको हो ।

यातायात, संचार तथा भण्डारण

यस क्षेत्रले जीडीपीमा ८ दशमलव ४२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा २ दशमलव ५५ प्रतिशतले कुल मूल्य अभिबृद्धि बृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । सिमानाका अवरोधका कारणले प्रभावित स्थलगत यातायात तर्फको उत्पादन नकारात्मक भएता पनि हवाई यातायात क्षेत्रमा भएको उल्लेखनीय बृद्धिका कारणले समग्र यातायात क्षेत्रको सेवा उत्पादन सकारात्मक भएको हो ।

वित्तीय मध्यस्थता

कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ४ दशमलव ९६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । भुकम्प तथा नकाबन्दीले अन्य क्षेत्रमा असर गरेपनि बैंक तथा वित्तीय क्षेत्रमा भने असर गरेको देखिँदैन । यसैगरी बीमा सम्बन्धी कारोवारले पनि यसलाई प्रभाव पारेको छ । चालू आवमा यस क्षेत्रको ३ दशमलव ३ प्रतिशतले कुल मूल्य अभिबृद्धि बृद्धि हुने अनुमान रहेको छ ।

रियल स्टेट तथा व्यावसायिक सेवा

चालु आर्थिक बर्षमा यस क्षेत्रले ९ दशमलव १६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यसको कुल मूल्य अभिबृद्धि बृद्धिदर अघिल्लो वर्षको तुलनामा ३ दशमलव ७२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । यसैगरी सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले २ दशमलव६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिबृद्धि बृद्धिदर ५ दशमलव ७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

शिक्षा

चालु आर्थिक बर्षको कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रले ६ दशमलव ७६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिबृद्धि अघिल्लो बर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशतले बृद्धि हुने पूर्वानुमान गरिएको छ । निजी तथा गैरसरकारी क्षेत्रहरूबाट संचालित शैक्षिक गतिविधिहरूमा भएको परिवर्तित सूचकको आधारमा यस क्षेत्रको बृद्धिदर बढ्ने अनुमान गरिएको हो ।

स्वास्थ्य

स्वास्थ्य क्षेत्रले जीडीपीमा १ दशमलव ७७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यसको ८ दशमलव ८५ प्रतिशतले कुल मूल्य अभिबृद्धि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । निजी स्वास्थ्य संस्थाहरुको आयमा भएको बृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिबृद्धि बढेको हो । यसैगरी, अन्य सामुदायिक क्षेत्रले ४ दशमलव ३१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यसको मूल्य अभिबृद्धि बृद्धिदर ५ दशमलव ६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL