Logo

ऋण दिँदा बैंकको प्राथमिकतामा ‘घरजग्गा धितो’, कसरी फस्टाउला स्टार्टअप र विजनेश इन्नोभेसन ?

ऋण दिँदा बैंकको प्राथमिकतामा ‘घरजग्गा धितो’, कसरी फस्टाउला स्टार्टअप र विजनेश इन्नोभेसन ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रबाह गर्दा धितोको रुपमा घरजग्गालाई प्राथमिकतामा राख्ने गरेका छन् । सरकारले नयाँ स्टार्टअप तथा देशभित्रै रोजगारी सिर्जना गर्न व्यवसाय प्रवद्र्धन गरी व्यवसायिक कर्जालाई प्राथमिकता दिएपनि बैंक तथा वित्तीय संस्थाले भने घरजग्गा धितो कर्जालाई बढी प्राथमिकता दिएका हुन् । विजनेश इन्नोभेसन र स्टार्टअप क्षेत्रमा व्यवसाय धितो राखेर कर्जा पवबाह गर्दा उच्च जोखिम हुने हुँदा बैंकले घरजग्गा धितोलाई बढी प्राथमिकता दिएको सम्बद्ध बैंकहरु नै बताउँछन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०७९।८० को पहिलो ६ महिनाको तथ्यांकलाई विश्लेषण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जा प्रवाहमध्ये ठूलो हिस्सा घरजग्गा धितोमा गएको देखिन्छ । बैंकहरु आफु सुरक्षित हुनकै लागि घर जग्गालगायतको सम्पत्ति धितोको कर्जा प्रवाहमा आकर्षित हुँदा सरकारले प्राथमिकतामा राखेको विजनेश इन्नोभेसन र स्टार्टअप क्षेत्रमा भने लगानीको समस्या देखिएको छ ।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको कुल कर्जामध्ये ६७.२ प्रतिशत कर्जामा घर जग्गा धितो रहेको छ । यस्तै यसै अवधिमा १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अझ बैंकहरुले घरजग्गा धितोमा प्रवाह गर्ने कर्जा गत आवको पहिलो ६ महिनामा ६६ दशमलव ५ प्रतिशत मात्रै थियो । यो बर्ष घरजग्गा धितोमा दिईने कर्जा अझै बढेको छ ।

सरकारले हरेक वर्ष बजेटमार्फत र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नव आविष्कार र स्टार्टअपहरुलाई प्राथमिकता दिँदै इन्नोभेशन र व्यवसाय धितोमा कर्जा दिने बताउँदै आएको छ । तर बैंकहरुले भने त्यसको विपरित आफ्नो कर्जा सुरक्षित गर्नका लागि घरजग्गा धितोलाई बढी प्राथमिता दिएको राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोख्रेल बताउँछन् । ‘कोरोना महामारीताका धेरैजसो बैंक वित्तीय संस्थाहरुले आफु जोगिनकै लागि विनाधितोका कर्जा प्रवाह घटाए,’ उनले भने, ‘त्यहि प्रवृत्ति अझै पनि छ, यसलाई राष्ट्र बैंकले क्रमिक रुपमा सुधार गर्दैछ ।’

राष्ट्र बैंककै तथ्यांकलाई आधार मान्दा चालू आवको पुस मसान्तसम्म बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये घरजग्गा धितोमा मात्रै ३ खर्ब ४७ अर्ब ७० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो कुल कर्जाको ६७ प्रतिशत बढी हो । यस्तै यसै अवधिमा बैंक वित्तीय संस्थाहरुले चालु सम्पत्ति धितोमा ६० अर्ब ४१ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा बील ग्यारेन्टीमा हुने कर्जा भने घटाएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नकै लागि राष्ट्र बैंकले विपन्न वर्ग कर्जामा सीमा नै तोकिदिएको छ । तर कतिपय बैंक वित्तीय संस्थाहरुले तोकिएको कर्जाको न्युनतम थ्रेसहोल्ड समेत पुर्याउन सकेका छैनन् । जसले गर्दा नयाँ अर्थात केही गर्छु भन्ने लगानीकर्ताहरुमा नैराश्यता उत्पन्न हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । बैंक वित्तीय संस्थाहरुको कर्जा प्रवाह गर्ने प्याटर्न नै परिवर्तन नगरी नेपालमा नयाँ इन्नोभेसनको विकास हुन नसक्ने तथा नेपालको व्यवसायिक स्थिति पुरानै अवस्थामा रहिरहने उनको भनाई छ । ‘बैंंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाहरुलाई परियोजना धितोमा प्राथमिकता दिएर प्रवाह गरिनुपर्छ,’ उनले भने, ‘जसले गर्दा देशभित्रै उद्योग कलकारखाना स्थापना भई रोजगारी सिर्जना हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL