काठमाडौं । एक नेपालीले यूएईमा अहिलेसम्मकै ठूलो धनराशीको चिठ्ठा जितेका छन् । कतारमा काम गर्दै आएका रञ्जितकुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात नेपाली रुपैयाँ झन्डै ८२ करोड ११ लाख रुपैयाँ जितेका हुन् ।
यूएईको खलिज टाइम्सका अनुसार बिग टिकट आबुधावीअन्तरगत फ्रेबुअरी ३ मा लक्की राफल ड्र खोलिएको थियो । जसमा रन्जितले यो चिठ्ठा जितेका हुन् । सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए ।
पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिहरूबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन् । रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएको छन् ।
‘म रोमाञ्चित छु । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु’, पालले भने । पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग बिग टिकटहरू खरिद गर्दै आएका छन् र त्यसलाई निरन्तरता दिने उनको योजना छ । “म नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्ने योजना गर्छु ।’
ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए । दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथन (१ मिलियन डिएच ), शिबु म्याथ्यू (१ लाख डिएच) र अजित रामचन्द्रकमल (डिएच ५० हजार) र सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरे ।