Logo

रास्वपाले सरकारलाई दिएको अल्टिमेटम आज सकिँदै, रविलाई गृहमन्त्री बनाउलान प्रचण्डले ?

रास्वपाले सरकारलाई दिएको अल्टिमेटम आज सकिँदै, रविलाई गृहमन्त्री बनाउलान प्रचण्डले ?



काठमाडौं । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रालयका विषयमा निर्णय गर्न दिएको अल्टिमेटमा आज सकिँदै छ । सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो ।

रास्वपा आफ्नो भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि रास्वपा अहिले सरकारमा बस्ने कि नबस्ने भन्ने अन्यौलमा छ ।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए । सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो ।

यसपछि लामिछानेले १५ माघमा जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पुर्याएर नेपाली नागरिकताको प्रमाणपत्रलाई लिइसकेका छन् । यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गर्दै आएका छन् ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले भने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल गृहमन्त्रालका विषयमा निर्णय नगर्ने बताइरहेका छन् । यस्तोमा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्रालय दिन अस्वीकार गरे पार्टीको बैठक बसेर सरकारमा रहने या नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL